काठमाडौ । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको टिप्पणी गरेकी छिन् ।
उनले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने धारणा राख्दै यस्तो बताएकी हुन् । भुसालले लेखेकी छन्, ‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ ।’ उनले महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद भन्दै विरोध जनाएकी छन् ।
शनिबार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा शाक्यलाई प्रथम महिलाको रुपमा बोलाइएको थियो। नेपाल प्रहरीका अनुसार प्रथम महिला शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगाएतको उपस्थिति थियो ।
त्यसैप्रति लक्षित गर्दै भुसालले आपत्ति जनाएकी हुन् । उनले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैं निर्माण गर्ने धारणा राखेकी छन्। ‘वंशवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था जहाँ राजाकी श्रीमती महारानी, छोराछोरी युवराजर युवराजकुमारी हुन्थे ।’
भुसालले लेखेकी छन्, ‘लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैँ निर्माण गर्ने हो । सबैलाई समानता र स्वाभिमान प्रदान गर्ने लोकतान्त्रिक गणतन्त्र ज़िन्दावाद। महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद ।’






