काठमाडौ । व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरिरहेका छन् । थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् ।
हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने बताए । मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए । उनका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको बताए ।
तीन वर्षअघि तत्काली नेकपा एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकीकरणका सिलसिलामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो । त्यसको तीन वर्षपछि त्यही ‘मार्सी’ नामलाई क्याच गरेर त्यसैका नाममा बियर उत्पादन गर्दैछन् । उनका अनुसार फागुन महिनादेखि मार्सी बियर उत्पादन भइ बजारसम्म पुग्नेछ ।
कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गर्ने उनले तयारी गरिरहेका छन् । हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।






