रुपनी जि.एम, काठमाण्डौ । छिमेकी को ६ बर्षिय छोरी, जहिले मेरो कोठामा ‘अंकल अंकल’ भन्दै आउँथिन् । म ल्यापटपमा कार्टुन लाइदिन्थें । अनि उनी आफ्ना बुवाआमा सबै बिर्सेर कार्टुन हेरेर बस्थिन् । बिहान स्कुल जानू भन्दा अघि अनि स्कुल छुट्टि हुने बितिक्कै आइपुगी हाल्थिन् । उनी एकदन हैन दुई दिन हैन सधैं त्यसैगरी आई रहँदा मलाई दिक्क लाग्न थालिसकेको थियो । ‘कस्ता बाउ आमा होलान, छोरी कता गै भनेर खोजी नि गर्दैनन ।’ भनेर सोच्थें । अनि फेरि ‘छोरी यता पठाएर बुढा बुढी रोमान्स गर्दै बस्छन होलान् नि ।’ भनेर पनि सोच्थें ।
जहिले ती ६ वर्षकी बालिका त्यसैगरी मेरो घरमा आईरहंदा र मेरो ल्यापटपमा कार्टुन हेरी रहंदा मलाई दिक्क लागेर एकदिन थर्काएँ । ‘जाउ आफ्नो घर’ तर उनको अनुहार निन्याउरो भयो । केही बोलिनन् । त्यो देखेर मलाई पनि मनदेखि नै नरमाईलो लाग्यो । अनि सोधेको त उनले रुँदै भनिन्‘बुवा आमा सधैं झगडा गर्नु हुन्छ ।’ उनको करा सुनेर उनलाई थर्काउँदै ‘जाऊ आफ्नो घर’ भनेकोमा आफैलाई गल्नाली भयो । साँच्चै उनका बुवा आमा सधैं झगडा गर्दा रहेछन् । त्यही देख्न नसकी उनी मेरो घरमा मसङ्ग आउँदी रहिछिन् ।
उनको कुरालाई ध्यानमा राख्दै एक दिन यसो झ्याल बाट मुन्टो निकालेर सुनेको त साँचिक्कै हानाहान परिरा रहेछ बुढा बुढिको । बाउ आमा झगडा गर्दा छोरिको कुहिनामा नि लागेको रहेछ । चोट लागेर ती सानी नानीको कुहिनाको छाला पिल्सिएको रहेछ । उनको घाउमा मैले आफुसंग घरमा भएको घाउमा लगाउने मलम लगाई दिएँ । उनको बाहीर देखिएको घाउमा त मैले मलहम लागईदिएँ तर उनको मन भित्रको घाउमा मैले कसरी मलहम लगाउन सक्थें र ? ‘नानु यो आफैसंग लिएर जाऊ अनि बेलुका सुत्ने बेलामा नि लगाउ है’ भनेर दिएँ ।
मेरो घरमा आउनको उनको कारण थाहा पाएदेखि मैले उनी आउनु भन्दा पहिला नै ल्यापटप खोलेर कार्टुन लगाई राखि दिएको हुन्थें । खुशी हुँदै उनी पनि हेर्न बसिहाल्थिन् । उनी र म साथी जस्तै भैसकेका थियौं । म कतै बाहिर गएको बेला उनलाई मन पर्ने खाने कुरा जस्तै आइस क्रीम, चक्लेट लिएर आउँथें । म बाहीर गएको समयमा ढोकामा ताल्चा नलगाई जान्थें । ताकि उनी स्कूलबाट आउँदा निराश हुन नपरोस् र ल्यापटपमा उनको कार्टुन हेर्ने इच्छा इच्छामै समित नहोस् । र उनी त्यसैग गर्थिन् । म घरमा आउँदै उनी आफै ल्यापटप खोलेर युट्युबमा कार्टुन हेर्दै बसेकी हुन्थिन् ।
एकदिन बेलुका उनी आफ्नो घर गएपछी एक्कासी छिमेकीहरुसंग उनी नानीलाई लिएर मलाई तथानाम गाली गर्न थाले । ‘त साले बलात्कारि मेरी यति सानी छोरिलाई रेप गर्ने आट कसरी गरिस् ?’ भन्दै सिधै मेरो कपाल जगटाउन थाले । गाउँघरका मान्छे भेला भए । कतिले मलाइ घेरेर कुटे पनि । के भैराछ मैले अतोपतो पाइन । मैले केही बोल्ने मौका नै पाइन । आफैहरु मात्रै न्याय मुर्ति बन्दै मलाई कारवाहीको लागि थरीथरी सजायको फैसला सुनाई रहेका थिए । मेरा बाउ आमा रुँदै हाम्रो छोराले केही गरेकै छैन भन्दै बिलौना गर्दै छुट्याउन खोज्दै थिए ।
तर भिडले मलाई यति कुटे कि म त्यही बेहोस भएर ढलेछु । पुलिस आएर मलाइ सिधै हत्कडी लगाएर पुलिस चौकी लगेर गएछ । त्यस्तो अवस्थामा पनि मेरो उपचार भन्दा त्यो समाजले मलाई सजायको हकदार बनाई रह्यो । जब कि मेरो पुरै शरिर रगतले राताम्य थियो । अनि पुलिस चौकीमा ती सानी नानिलार्इ बोलाएर सोधियो । पुलिसले उनलाई सिधै सोध्यो ‘यो मान्छेले तिमीलाई छोयो ? नडराएर भन है ?’ ती नानी चुप लागिन् । अनि फेरि महिला प्रहरीले नानीको प्राइभेट पार्ट देखाउँदै ‘यस्ले तिम्रो यहाँ छोयो ?’ भन्दै सोधी । ती नानी केही बोलिन् ।
निकै बेरपछि उनले भनिन्,‘अंकलले मलाइ माया गर्न सिकाउनु पो भाको त’ पुलिस ले ठुला ठुला आँखा मलाइ तर्दै फेरि सोध्यो, ‘कस्तो माया ? नडराइ भन तिमिलार्इ केही हुन्न’ प्रहरीले उनको आत्मलब बढाई दिएपछि नानिले आफ्नो हाफ पैन्ट्को गोजिबाट ड्रोईंग निकालिन् अनि देखाउँदै भनिन्,‘यी यसरी ड्याडी र मामुलार्इ झगडा गर्नु हुन्न, माया पो गर्नु पर्छ त भनेर सिकाउन लाउनु भाको ।’ पुलिसले उनको भनाई र त्यो ड्रोईंग हेरेर केही जवाफ दिनै सकेन । मलाई अघि तेरेर हेरेको ठूला ठूला आखाँलाई मलिन् र निन्याउरो बनाउँदै फेरी हर्यो । प्रहरीको त्यो मलिन् अनुहार हेरेर मैले मप्रतिको उस्को साहाभूति र पश्चातमो भाव बुझि हालें ।
एक छेउमा बाउ अर्को छेउ मा आमा अनि बिचमा आफ्नै ड्रोईंग बनाएर”Dont fight please! It will mentally effect your child” लेखेर ठूलो मुस्कान सहितको कार्टुन बनाएर तिम्रो ड्याड मामुलाई देखाउ है ? भनेर दिएको थिएँ । त्यही ड्रोईंग देखेर सारा पुलिस चौकी नै स्तब्ध भयो । सबै मलाई दयालु भावले हेरि रहे । म भने एउटा कुनामा कुटाइको पिडाले जिउदो लास जस्तो लमतन्न परेको थिएँ । ती नानी मेरो छेउमा आएर भनिन्,‘अंकल तपाइले दिएको घाउको औषधि मेरो स्कुलको ब्यागमा छ । भोलि बिहान ल्याएर लगाइदिन्छु हस् ?’ म स्तब्ध भएँ । अनि उनलाई अंगालो हालेर भक्कानिदैं रोएँ ।






