काठमाण्डौ । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो । यस्तै नेपालमा साढे २४ हजार जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये सवैभन्दा बागमती प्रदेशमा १९ हजार रहेका छन् । यस्तै लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५३७, मधेश प्रदेशमा ३ सय २३, कर्णालमा २ सय ३० जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ । योपनि कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ ।
सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए ।
‘सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध भएन, बिरामीको चाप बढ्दैछ’, उनले भने, ‘अहिले अस्पताल आफैँले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको छ ।’ उनले अस्पतालमा डेङ्गुका बिरामी बढेको बताए । प्रदेश सरकारसँग किट माग गरे पनि ३०÷४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ ।
तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ ।पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुईरदुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन् ।






