काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली नागरिकसँग आग्रह गरेकी छन् । जबराकी छोरी सुनिधिले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न उनले नेपाली नागरिकसंग आग्रह गरेकी हुन् ।
आइतबार दिउँसो बालुवाटारमा रहेको प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा न्यायधिशकी छोरी सुनिधिले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली नागरिकको साथ चाहिएको बताईन् । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली नागरिकबाट ठूलो भरोसा लिएको उनको भनाइ छ ।
उनले दुई हात जोड्दै भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउन नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको भन्दै गाडी भित्रैबाट दुःखेसो पोखेकी थिईन् । ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चा लिन स्कुल जानुपर्छ । एउटाले बच्चा लिएर आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्यो नि । एकदमै अराजकताको पनि पराकाष्ठा भएको छ । यो कुरा नेपाली जनताले बुझिदिनुपर्यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौँ– सब जनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने उठेर आइ दिनुपर्यो ।’ उनले भनिन्,
‘हामीहरूलाई नजरबन्दमै राखिएको छ । सन्चो छैन, औषधि लिन जानुपर्यो । काम गर्ने मानिस बाहिर हिँडिराखेको बेलामा उनीहरूलाई समातेर लगेर थुनिराखेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौँ रु हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनतासँग हो । जनताले के सही हो, के गलत हो छुट्टयाएर, बुझेर आइ दिनुपर्यो ।’
सुनिधिका अनुसार स्कुलमा बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उहाँलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउनसमेत नदिएको बताइएको छ । निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधि सभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए ।






