काठमाडौ । निलम्बित क्रिकेटर सन्दीप लामिछाने कहिले आउलान् र च्याप्प समातौँला भनेर कुरेर बसेको नेपाल प्रहरीलाई चक्मा दिँदै सन्दीप केन्यबाट दुबई गएको अनुमान गरिएको छ । पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको अवस्थामा सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताएका थिए । तर उनी अहिले न क्यानको सम्पर्कमा छन् न प्रहरीलाई नै उनी कहाँ छन् भन्ने विषयमा केही जानकारी छ ।
गत बिहीबार काठमाण्डौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए ।
भदौ ५ गते काठमाण्डौको एक होटलमा नाबालिगलाई पुर्याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि लागेको छ । प्रहरीले सन्दीप नेपाल नफर्किएमा इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको बताएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए ।
प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट समेत उनले क्यान्सिल गरेका छन् । नेपाल क्रिकेट संघ क्यानको पनि सम्पर्कमा नरहेका सन्दीप कहाँ छन् भन्ने सबैको चसोको विषय बनेको छ ।






