नेपालगन्ज बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । शहरी विकास मन्त्री मेटमणी चौधरीले उक्त केन्द्रको शिलान्यास गर्नुभएको हो । ६ जिल्लाका करिव १० लाख जनतामा १ लाख जनामा सिकलसेल विरामी रहेको क्षेत्रमा अस्पताल अति आवश्यक भएको कारण ६ जिल्लालाई लक्षित गरि अस्पताल निर्माण गरिन लागेको मन्त्री चौधरीले बताए ।
बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङ, सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाईमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको मन्त्री चौधरीले जानकारी गराउनुभयो । थारु समुदायमा मात्र नभई अन्य समुदायमा पनि फैलन सक्ने भएको हुनाले यस अस्पतालको अति खाँचो रहेको छ, उनले भने । अहिले यस क्षेत्रमा सिकलसेल विरामी दैनिक बढिरहेका छन । उनहिरुले उचित उपचार पाउन नसकेको गुनासो छ ।
सहज र सस्तो उपचार नहुँदा कतिपय थारु समुदायका गरिब विरामीको घरवार नै उठिवास भैसकेको विरामी बताउँछन । यस्तो विकराल अबस्था भएपछि थारु समुदायमा देखिएको सिकलसेल रोगको निदानका लागि भन्दै बाँकेमा निर्माण गर्न लागिएको उक्त अनुसनधान केन्द्रसहितको अस्पताल निर्माणमा करोडौं बजेटको आवश्यकता पर्ने देखिएको छ । यसको बजेट विनियोजन सम्पुर्ण शहरी विकास मन्त्रालयले लिने मन्त्री चौधरीले बताए ।
सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका ३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरिने लागिएको हो । यसअघि नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू अगुवाको नेपालगन्जको नहरपूर्वामा सिकलसेल अस्पताल स्थापनाका लागि पहल थालिएको हो ।
सात बिघा जमिनमध्ये १० कठ्ठामा अस्पताल र अन्यमा सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचाको निर्माण गरिने भएको थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले बताए । बाँकेको राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् ।
६ जिल्लाका १० लाख जनसंख्या थारु समुदायमा १ लाख जनामा सिकलसेलका विरामी रहेका छन् । जसमध्ये बाँकेमा १ हजार जनाले उपचार गराई रहेको तथ्याङक पेश गरिएको थियो । उद्घाटन सत्रमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, जानकी गाउँपालिकाका अध्यक्ष छब्वन खाँ, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिष सिंह थारु, थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारु, ६ जिल्लाका थारु अगुवा बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।






