नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७८÷२०७९ मा गुणस्तरीय सेवा प्रवाह गर्ने तीन स्वास्थ्य संस्था उत्कृष्ट घोषित भएका छन् । जानकी गाउँपालिका स्वास्थ्य शाखाले वार्षिक स्वास्थ्य समिक्षामार्फत गुणस्तरीय सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई उत्कृष्ट घोषणा गरेको हो ।
उत्कृष्ट हुनेहरुमा बेलभार स्वास्थ्य चौकी, साईगाउँ स्वास्थ्य चौकी र गनापुर स्वास्थ्य संस्था रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले जानकारी दिए । उत्कृष्ट घोषित भएका स्वास्थ्य संस्थाका प्रमुखसहितका कर्मचारीलाई प्रशंसा पत्रले सम्मानित गरिएको छ । स्वास्थ्य संस्थालाई स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, सामाजिक बिकास संयोजक राम अँचल धोबीले सम्मान पत्र प्रदान गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख रानाका अनुसार यसबाहेकका स्वास्थ्य संस्थाले पनि गुणस्तरीय सेवा प्रदान गरिरहेका छन् । समिक्षा कार्यक्रमको समापनमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले स्वास्थ्य संस्थाहरुले उत्कृष्ट कार्य गर्दै आएको बताए ।स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरामा देखाएको गम्भीरताले संस्थालाई अझ उत्कृष्ठ बनाउन सहज हुने बताए ।
शुक्रबारदेखि शुरुभएको २ दिने वार्षिक समिक्षा गोष्ठीको समापन सामाजिक बिकास संयोजक धोबीको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका तथ्यांक अधिकृत विकल्प चौधरी, आइएनएफ बाँकेका कुष्ठरोग इन्चार्ज मंगल थारु, एसएसबिएच संस्थाका तर्क मल्ल, जानकी गाउँपालिका बाँकेका वडा नम्बर १ देखि ६ नम्बर वडाका अध्यक्षहरू र स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।






