बिधुत्मा रैका ‘भुजेल’
बाँके । भदौको तेस्रा साता । घमाइलो दिन । मेची महाकाली बुहारी सयुक्त आवाजको तेस्रो वार्षिक उत्सव हलभित्र पसिन् हिरकला बि। क। । त्यहाँ उपस्थित सबैका आँखा उनीहरु सोझिए । सबैले उनलाई कुर्चीमा बस्न आग्रह गरे । चम्किला आँखा । आँखाका नानीहरुमा पीडा र जिज्ञासाका अनगिन्ती धर्साहरु, जसरी चाउरी परेका अनुहारमा देखिन्छन् । तर सबैले सजिलै गरी ती धर्साका पीडाहरु पढ्न सक्दैनन् ।
आँखा सेतो चस्मा, गलामा सेतो एक सर्को पोते, रातो कर्था, रातो सल र गुलाबी रङको सरवाल, रनाडीमा राता चुरा । उनी साँच्चै रङ्नि देखिएकी थिईन् । तर उनका जीवनका भित्री रङ्गहरु उडेको कसैलाई पत्तै छैन । हिरकलालाई धेरैले सुने । सुनेरै धेर थोर जाने पनि । तर जानेर पनि उनका अनुहारमा कोरिएका जीवनका कहालीलाग्दा धर्साहरु कसैले राम्रोसँग पढ्न सकेनन् । सामान्य महिलाभन्दा अग्लो कद । लाम्चो अनुहार ।
कालो केश केही फूलेका छन सपना र आशा । अक्सर बुढ्यौली लागे पनि उनको अनुहारमा चमक छ । तर प्रफुल्ल छैन । कतै टोलाएको जस्तो । कतै हराएको जस्तो । कतै बाटो बिराएर रन्थनिए जस्तो । उनलाई लाग्यो लागेन म जान्दिन तर उनले धेरै जनाहरुको बिच कार्यक्रममा बस्दा अलि अफ्ठेरो महशुस गरिन् कि भन्ने मलाई चाही लागेकै हो । झट्ट हेर्दा उनी ५० कटेको जस्तै देखिन्छन् तर ४० वर्षिय युवा नै हुन् हिरकला ।
तर जब केही समयको अन्तरालमा उनी देउडाम लय भाकामा उत्रिन् उनको कला देखेर म मन्त्र मुग्ध हुन पुगे । हुम्ला जिल्लाको रोढीकोटमा जन्मिएकी हिरकलाका गुलाबी उमेरका रङ्गहरु सुरु भएदेखि वन, पाखा, पानी पधेँरामा देउडा गाउँदै बिते । हिरकलासँग दृष्टि छ तर दृष्य छैन । आँखाले देखेको संसारको उनीसँग अनुभव छैन । संसार कस्तो छ । आफ्ना र पराईहरु कस्ता छन् ।
यो वातावरण यो भुगोल कस्तो छ उनले देख्न पाएकी छैनन आफूले लगाउने रङ्गहरु कस्ता छन् उनलाई थाह छैन । तर अनुभव भने कमजोर छैन । उनी मनको आँखाले देख्छिन् । अरुले जस्तै सजिलै हिड्न त सक्दिनन् तर गन्तव्यमा भने अवश्य पुग्छिन् । उकाली ओराली देउराली चौतारी मेलापात गर्दै उनको बालापन आफू जन्मेको गाउँमै बित्यो । बाल्यावस्थाको परिचय नपाउदैं विवाह बन्धनमा बाँधिएकी हिरकलाका श्रीमानसँग कहिले दुःखमा अनि कहिले सुखमा हातेमालो गर्दै बितेका दिनहरुको सम्झान मात्रै बाँकी छ ।
१० वर्षे जनयुद्धमा क्रान्ती गर्छु भनेर जंङ्गल पसेका उनका श्रीमान उतै हराए । सशत्र जनयूद्ध त सकियो हिरकलाका दुःखका पहाड अझै सकिएका छैनन् । बृहत शान्ति सम्झौतासँगै सशस्त्र विद्रोह अन्त्य भयो । द्वन्द्वकालमा बेपत्ता पारिएकाहरुको खोजीका लागि आयोग बन्यो । ‘कि सास चाहियो कि लास’ भन्दै लौरीको साहरामा बेपत्ता पारिएका व्यक्तिहरुको खोजबिन आयोगमा पटक–पटक धाइन् । मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको ढोका चहारिन् । जहाँ–जहाँ पुगिन्, आँसु खसालिन् । तर श्रीमानबारे कसैले केही जवाफ दिएको छैन । श्रीमानको पर्खाइमा बित्यो दुई दशक ।
३ छोरीकी आमा बनेकी हिरकलाका ‘रुँदा रुँदा एकदिन आँसु नै रितिदिन्छन् । श्रीमानको पर्खाइमै आशाका त्यान्द्राहरु चुडिन्छन् । अझै पनि उनका न आँखामा आँसु सकिए, न आशा नै म¥यो । उनले भनिन्,–‘जीन्दगी दुःखैमा बित्नु रहेछ । दुखारीलाई भाग्यले पनि ठग्दो त रहेछ । म पनि आँखा देख्दिन मेरो जेठी र माईली छोरी पनि आँखा नदेख्ने जन्मिए । कुन दैव टिठाए खै कान्छी छोरीले आँखा देख्ने भैछे ।’
उनी आमा बनिन् उनकी छोरीहरु छोरी बने एकअर्कालाई स्पर्श गरे तर एकले अर्कालाई कहिल्यै देख्दैनन् र देख्ने आशा पनि गरेका छैनन् । ‘श्रीमान एकदिन फर्किएर आइ पो हाल्छन् कि रु’ यही आशमा यति लामो समय बितेको पत्तै पाईनन् । दुवै छोरी आँखा नदेख्ने भएपछि हिरकलाका जीवनमा झनै दुःखका पहाडहरु थपिए । परिवारको मुली नै बेपत्ता भएपछि जीवन चलाउन असाध्यै समस्या भयो । उनी काखे सन्तान बोकेर श्रीमान्सँगै सुख खोज्दै आफ्नो भाई छक्क बहादुर बि।क।सँगै तराई झरिन् ।
तत्कालिन कोहलपुर गाविस तथा हालको कोहलपुर नगरपालिका वडा ११ को लोक नगरमा अस्थाई बसोवास बनाउदै सुरु गरिन् संघर्षका पाईलाहरु । आँखा देख्न सक्ने मानिसले गर्ने कामहरु उनले स्पर्श, सुनेको आवाजका आधारमा गर्न थालिन् । जसो तसो गुजरा चलाउदै आईन् । उनी भन्छिन्–‘दिनहरु बित्दै गए समयले मलाई झनै जिम्मेबार र परिश्रम गर्न सिकायो । आँखा नदेख्ने नै भए पनि अरु आमाहरुले जस्तै मैले पनि विस्तारै–विस्तारै बच्चाको स्याहार सुसारमा आवस्यक सबै काम गर्न थाले । सानैदेखि देउडा गाउने रहर भएकोले गीतको सुरमा काम गर्न थाले । मेरो स्वर राम्रो मानेर होला कसै कसैले कहिले काही कार्यक्रममा बोलाउन थाले । म गाउन थाले ।’
देउडा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भाका तथा भाषा हुन् । देउडाले समग्र कर्णाली बोलेको छ सुदूरपश्चिम बोलेको छ । कर्णाली र सुदूरपश्चिको चिनारी पनि हो देउडा । यि दुई प्रदेशमा आफ्नो छुट्टै पहिचान बोकेर देशभर यि प्रदेशलाई चिनाएको छ । तर पछिल्लो समय स्थानीय मौलिकता झल्कने लोक संस्कृति देउडा हराउँदै जान थालेको छ । पश्चिमेली संस्कृतिको प्रभावले गर्दा स्थानीय कला संस्कृति भेषभूषा तथा देउडा लोप हुने अवस्थामा छ ।
तर पनि उनी मौका मिले देउडा गाउन थालिहाल्छिन् । जहाँ जे गरिरहे पनि देउडामा हराईरहन्छिन् । देउडा गाउँदै आफ्ना कथा व्यथा पोख्छिन् । लिप्त हुन्छिन् देउडा मै । स्टेजमा गएर गीत गाउन थालेपछि छोरीहरुको पालन पोषणमा केही सहज भयो तर पूर्ण भने कहिले भएन । जे जसरी भएपनि सन्तान पढाएर ठूलो मान्छे बनाउने रहर कुन आमाको हुँदैन होला । उनलाई पनि छोरी पढाउने रहर जाग्यो । विभिन्न व्यक्ति तथा संघ संस्थाको पहलमा उनले आफ्ना दुई दृष्टि विहीन छोरीलाई नेपालगंजको एम।पी स्कुलमा भर्ना गरिन् ।
हाल उनको दुई छोरी सोही विद्यालयमा अध्ययन गरिरहेका छन् । उनकी कान्छी छोरी कोहलपुर नगरपालिकाकै पहलमा कोहलपुर सेकेण्डरी स्कुलमा अध्ययनरत छिन् । जिन्दगीका अनगिन्ती भोगाइहरुबाट थिचिएकी हिरकलालाई छोरीहरुलाई ओत लगाउन एक झुपडीको खाँचो थियो । नभन्दै कोहलपुर नगरपालिका तथा वडा नम्बर ११ को वडा कार्यालयले उनको लागि २ कोठाको घर निर्माण गरिदएको छ । मेची महाकाली बुहारी सयुक्त आवाजले सौचालय निर्माण गरिदियो । अब भने हिरकलाको जीवनमा थोरै खुशी थपिएको छ ।






