बाँके खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल नियुक्त भएका छन् । युवानेता मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए ।
मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको हो । सदस्य केसी काँग्रेस र खान जसपा सम्बद्ध हुन् । सरकारले बर्खास्त गरेपछि सर्वोच्च अदालतबाट पुनर्वहाली भएपनि केसीले पदलाई निरन्तरता दिएनन् ।
मल्लले भने, ‘सबै सरोकारवालासँगको समन्वय र सहकार्यमा अस्पतालको विकासका लागि आवश्यक पहल गरेर अगाडी बढ्नेछु ।’ एमाले नेता भक्तबहादुर केसीले अध्यक्ष पदबाट राजीनामा दिएपछि रिक्त रहेको समितिको अध्यक्षमा नियुक्त मल्ल नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव हुन् ।






