नेपालगन्ज । सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने प्रदेश सरकारको नीति अनुसार भेरी अस्पतालमा आज (आईतबार) देखि उक्त नीति अबलम्बन गरिएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत् बिरामीहरुलाई आजदेखि निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो.इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्क रुपमा रगतको प्याकेट हस्तान्तरण गरी उक्त सेवा सुरु गरिएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालबाट विपन्न तथा असहायको निःशुल्क उपचार गर्दै आएको उल्लेख गर्दै निःशुल्क रगतले उक्त वर्ग लाभान्वित हुने बताए । २०७९ साल भदौ १५ गते प्रदेश निःशुल्क रक्तसंचार व्यवस्थापन कार्यविधि २०७८ बमोजिम अस्पताल रक्तसंचार व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुरुवात गरिएको हो ।
यसअघि रक्तदाता संस्थाको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट बिरामीहरुले सशुल्क रगत लिंदै आएका थिए । अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ । रेडक्रसको ६० औं स्थापना दिवस पारेर आज आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा सुरु भएको घोषणा गरिएको हो ।






