काठमाडौ । प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभामा कोभिड–१९ नियन्त्रण र उपचार खटेका सबैलाई धन्यवाद दिए । उनले कोभिड–१९ सँगको लडाइँमा खटेका चिकित्सक, नर्स, सेना, प्रहरी, एम्बुलेन्स चालक लगायत सबैको प्रसंशा गर्दै धन्यवाद दिए ।
प्रधानमन्त्रीले कोभिडको समयमा सबै ‘स्थानीय निकाय’ ले अत्यन्तै प्रभावकारी काम गरेको भन्दै स्थानीय तहको पनि खुलेर प्रशंसा गरे । यस क्रममा उनले संघीय सरकारको कामको फेहरिस्त पनि सुनाए । उनले सरकारले कोभिडको खोप ल्याएको र अग्र मोर्चामा काम गर्नेहरुलाई खोप दिन थालेको बताए ।
प्रधानमन्त्रीले कोभिड–१९ को नियन्त्रण र उपचारका सन्दर्भमा स्थानीय तहको र संघीय सरकारका कामको खुलेर सहराना गरे पनि प्रदेश सरकारको नाम लिएनन् । उनले प्रदेश सरकारको उच्चारण नै गरेनन्, प्रदेश सरकारको बारेमा केही बोल्दै बोलेनन् । आज भएको बृहत सभा भने नेकपाको वागमती प्रदेशद्धारा आयोजित थियो ।






