काठमाण्डौ । मापदण्डविपरीत संरचना निर्माण गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटाको भूमिगत तला जाने बाटो खाली गरेका छन् । भवनको बेसमेन्टमा औषधि र ल्याबसहितको संरचना बनाएको भन्दै मेयर बालेन्द्र शाहले त्यसलाई तत्काल हटाउन आग्रह गरेका थिए । त्यस बेला अल्फाबिटाका सञ्चालक द्विराज शर्माले अटेर गरेपछि दोस्रोपटक जोडरसहित आएर भत्काएको हो ।
कामपाले हिजो बिहीबार बानेश्वर र तीनकुने, वरपरका आधा दर्जन संरचना हटाउन आग्रह गरेको थियो । बिहान बुद्धनगरको एक घरमा पुगेर बेसमेन्टमा सञ्चालन गरेको वर्गर हाउस बन्द गराएको थियो । त्यसपछि सो क्षेत्रमा मापदण्डविपरीत बनेको संरचना हटाउन माइकिङ गरेका थिए । मेयरसहितको टोली शंखमूलमा बेसमेन्टमा रहेको मुक्तिनाथ विकास बैंकमा पुगेको थियो । कामपाले बैंकका कर्मचारीलाई सो स्थानबाट बैक सार्न आग्रह गरेका थिए ।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार बन्द गराइएका सबै व्यवसाय त्यहाँबाट अन्यत्र सार्नुको विकल्प नभएको बताउनुभयो । उनले भने,‘क्षति नहोस् भनेर आफैं स्थानान्तरण गर्न आग्रह गरेका हौं, नमाने बाध्य भएर भत्काउनेछौं ।’ उनले सो क्षेत्रमा एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको जानकारी दिनुभयो । अनुगमन जानुअघि मेयरसहितको टोली बिहान वडा नम्बर १० मा बैठक बसेर निर्णय गरेको थियो ।
कामपा शहरी विकास विभाग निर्देशक सुरज शाक्यले लिस्ट उपलब्ध गराएपछि एक्सनमा पुगेको थियो । मेयर साहले मापदण्डविपरीत भएका सबै संरचना हटाउने जानकारी दिए । यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको बोली सुन्दा भद्र जनप्रतिनिधि लाग्दैन । उहाँको स्वभाव हेर्दा डन जस्तो देखिन्छ । बिहीबार बिहान बानेश्वरस्थित अल्फाबिटा पुग्दा मेयर साहले सञ्चालक द्विराज शर्मासँग आक्रोशित हुँदै भने,‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? तपाईंको घरको नक्सा मसँग हुन्छ ? तपाईँको घरको नक्सा मसँग हुने कि तपाईंसँग हुने ?’
यति भनिरहँदा उपस्थित जनताले प्रमुख बालेन्द्रलाई भने– ‘बालेन सर तपाईं जनप्रतिनिधि भएर थर्काउन आएको ?’ त्यसपछि केही नरमजस्तो भएर बालेनले ‘हामीले ३५ दिनभित्र खाली गर भनेर सूचना दिएका छौं नि त’ भनेका थिए । केट्यौली पारामा विभिन्न कम्प्लेक्समा दौडिँदै हिँडेका प्रमुख साहले घरधनीलाई यसरी धम्क्याउनु स्वाभाविक देखिँदैन । वास्तवमा काम गर्ने आदेश दिने हैसियतमा बसेका साहले अधिकांश व्यापारिक भवनमा पुग्दा थर्काएको देखिन्छ ।
अल्फाबिटामा पुगेका प्रमुख साहले घरधनी शर्माले गल्ती नै गरेको भए पनि यसरी मनपरी बोल्नु स्वाभाविक देखिँदैन । शर्माले भने, ‘मेयर बालेनले गरेको व्यवहार देखेर जनताले उनको व्यवहार देख्दा डन जस्तो लाग्छ ।’ शर्माले आफ्नो घरको नक्सा महानगरपालिकासँग हुनुपर्ने बताउँदै कानुनविपरीत नभएका कारण आफूले नभत्काउने जिकिर गरे । शर्माले भने,‘यो कानुनी राज्य हो । हामीले करोडौं कर तिरेका छौं । करोडौं कर तिर्छौं यसरी डन भएर आउने होइन ।’ उनले आफूहरु वकिल लिएर महानगरपालिकामा पुग्ने र त्यसपछि मात्रै फैसला गर्ने बताए ।
शर्माले भने,‘यो त अति भयो, हामीले सरकारसँग व्यवसाय गर्न करोडौं कर तिरेका छौं, सुरक्षाकर्मीसहित आएर हामीमाथि धम्की दिएको छ ।’ प्रमुख साहले सो भवनमा सञ्चालन भएका पसलको सटर बन्द गर्न आग्रह गरेका थिए । मापदण्डविपरीत भवनको बेसमेन्टलाई वसायिक प्रयोजनका लागि भाडामा लगाइएको पाइएको छ । शर्माले बेसमेन्टमा ल्याबसहितको औषधि पसल सञ्चालन गरेको महानगरपालिकाको भनाई छ ।
बालेनलाई वार्तामा आउन उवा संघको आग्रहः
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गैरकानुनी रूपमा निर्मित संरचना भत्काउने काममा तीव्रता दिएपछि बिहीबार काठमाडौं उद्योग वाणिज्य संघको आपत्कालीन बैठक बसी समस्या समाधानका लागि वार्ताको विकल्प रोज्न सुझाव दिएको छ । बैठकले काठमाण्डौ महानगरपालिकाका मेयर साहलाई वार्तामार्फत समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीमाथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ ।
‘मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो’, संघका सचिव दुर्गाराज श्रेष्ठले भने,‘घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ यस सम्बन्धमा महानगरपालिकाले औपचारिक प्रतिक्रिया दिएको छैन । तर, त्यहाँस्थित सूत्रका अनुसार कानुनी तरिकाबाटै भत्काउने काम भएकाले अभियान रोकिने अवस्था छैन । यो समाचार नेपाल समाचार पत्रमा छ ।






