बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्षको तुलनामा यस वर्ष बाघको संख्या बढेको छ । बाघको संख्या बढेसंगै मानव र बाघबीचको द्धन्द्ध पनि उत्तिकै बढ्दै गई रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । उनका अनुसार यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका वन क्षेत्रमा एक सय २५ वटा पाटे तथा वयस्क बाघ गणना भएका छन् । वन्य जन्तु र मावन बीच द्धन्द्ध बढेतापनि निकुञ्जले भने पञ्च वर्षिय रणनीति योजना अनुसार काम गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ ।
बर्दियामा बाघको संरक्षण कार्य निकै प्रभावकारी भएको बताउँदै अधिकृत श्रेष्ठ भन्छन्,‘यस क्षेत्रमा बाघको संख्या बढ्नुमा वन्य जन्तु चोरी शिकारीका घटनालाई नियन्त्रण गरेका छौं । त्यसैगरी बाघको व्यवस्थापन क्षेत्रलाई सुरक्षित गरेका छौं । बाघको आहारकालागी घाँसे मैदान र गर्मीमा पनि पानीको उचित व्यवस्थापन गर्न हामी सफल भएका छौं । त्यति मात्र नभएर बाघ संरक्षणकालागी समूदय स्तरमा पनि बाघ सम्बन्धि जनचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेका छौं ।’
प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार बाघको संख्या बृद्धिकालागी उनीहरुको बासस्थानदेखि लिएर आहार र बिहार सबै कुरामा सन्तुलन कायम गर्न आवश्यक रहन्छ । पर्यटकहरुकालागी बाघ एउटा आर्कषकको केन्द्र भएको हुनाले पनि बाघको संरक्षण गर्न निकै आवश्यक भएको उनी बताउँछन् । उनी भन्छन्,‘जंगल सफारी गर्न आउने पर्यटकका लागि अन्य वन्य जन्तुको तुलानामा बाघ एउटा विशेष जनावरको रुपमा रहन्छ । नेपालको जंगलमा नजिकैबाट बाघले गर्ने गतिबिधीलाई हेर्न चाहाना राख्ने विदेशी पर्यटकहरुकालागी बाघको संरक्षण गर्नु र उनीहरुको संख्यामा गुणात्मक बृद्धि गराउन सक्नु नै हाम्रो उपलब्धि हो ।’
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि हुनुमा समूदाय, नागरिक समाज, विभिन्न संघसंस्था, सरोकारवाला निकाय र मिडिया सबैको सहयोग र सकारात्मक भूमिकाप्रति राष्ट्रिय निकुञ्ज धन्यबादी रहेको कुरा पनि उनले बताए । यसका साथै यो समय जंगल सफारीकालागी उपयोगी समय नभएको हुनाले एकाध बाहेक बाघ हेर्ने आन्तरिक तथा विदेशी पर्यटकको संख्यामा खासै बृद्धि नभएको उनले बताए । २०२२ को पछिल्लो तथ्यांक अनुसार हाल नेपाल अधिराज्य भरीमा नै ३ सय ५५ बाघ रहेका छन् ।






