रुपनी जि.एम
बर्दिया । जेठ महिना अनि तराईको गर्मी । चर्को घाम र पसिनाको त के कुरा ? त्यस्तो पोल्ने घाममा पनि हामी ०५८÷०५९ ब्याजे स्कूले साथीहरुलाई बालापनको यादमा रमाउन भेला हुनु पर्ने । यो भेलाकोलागी कम्ताका फकाउनु परेको थिएन साथीहरुलाई । विशेषगरी केटी साथीहरुलाई । जे होस् भेला चैं भईयो है । शनिबारको दिन दिउँसोको झण्डै ११ बजेको हुँदो हो । जब म बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने सुन्दर ताल बढैयातालमा पुगें साथीहरु त बिहानको खाजामा खसीको पकुवा र भुजा खाने तयारीमा थिए । मेरो उपस्थितिले एकछिन् हो हल्ला भयो । यो मेरो मात्र नभई जोपनि पछिबाट आउँथे ती सबै आएको खुशीयालीमा हो हल्ला गरेर स्वागत गरिन्थ्यो ।
म पुग्दा खाजा खानेहरु खाँदै थिए । नाच्नेहरु नाच्दै थिए । सेल्फी खिच्नेको त के कुरा उनीहरु आफ्नै सेल्फीको दुनियाँमा मस्त थिए । केटाहरु आफ्नै झुण्ड बनाएर स्कूले यादहरुलाई ताजा बनाउनमै ब्यस्त थिए । मेरो आँखा भने कसैसंग नबोलेर सबैलाई नियाल्दै मुस्कुराउँदै टमाटर काटी रहेकी शान्ति गुरुंगमा पर्यो । उनी स्कूल पढ्दा नै शान्त थिईन् । थोरै बोल्ने तर मुस्कुराई रहने । सायद त्यसैले होला उनको स्वभावसंग नामको पनि मेल भएको । चारैतिर नजर घुमाएर हेरें । पर भान्सामा पसिना बगाउँदै काम गरिरहेका राजु पौडेल, अञ्जु सापकोटा र कृष्ण गिरीलाई पनि देखें ।
भेज साथीहरुकालागी नास्ताको तयारी गर्नमै ब्यस्त थिईन् राधिका सिग्देल पनि । मलाई देख्ना साथ जेरी समातेको हात उचाल्दै अंगालो हालिन् । त्यत्तिकैमा मनरुपाले पनि परबाट हात हल्लाउँदै हाई भनेर मलाई स्वागत गरिन् । म मात्रै ढिला भएछु मार्ने भए साथीहरुले भन् ठानेको त मभन्दा पछि अरुपनि आउँदै थिए । आफ्नो समय मिलाएर आउनेहरुलाई त्यसैगरी हो हल्ला गरेर हामीले स्वागत गरिरहेऊँ । साथीहरुको बेलुकाको ४ बजेसम्म पनि आउने क्रम जारी नै थियो । त्यसरी सबैभन्दा अन्तिममा आउने मध्यका शिव आर्चाय पनि एक थिए ।
केशव त्रिपाठीको त के कुरा गर्नुु र उनी त व्यापारी भएछन् । व्यापारी मान्छे आउने र जाने क्रममा उनको आफ्नै सेड्यूल थियो । त्यही बीचमा पडरियाका गिरीप्रसाद गुरुंगको पनि खोजी भयो । तर उनी आउनुभन्दा अगाडी बनबीरको हरी आई पुग्यो । आउना साथ उस्ले मलाई ‘तँ कहिले आईस् ?’ भनेर सोध्यो । मैलेपनि उस्लाई ‘हिजोआज त म यतै छु नि’ भन्ने जवाफ दिएँ । मलाई देखेर उस्लाई धेरै खुशी लाग्यो रे । नलागोस् पनि कसरी ? बाहून भएरपनि नेपालीमा कम्जोर थियो मोरा । म्याथ, ईग्लिंस र साईन्समा म कम्जोर भएपनि नेपालीमा त नयराज सरको प्यारो छात्रा नै थिएँ म ।
हरीलाई प्राय नेपाली मैले नै सिकाई दिन्थें । हरी र म कुराकानी गर्दै थियौं । त्यत्तिकैमा गिरी प्रसाद पनि आई पुगे । कोको आईपुगे ? कोको आउँदैछन् र को आउन बाँकी रहे भन्ने विषयमा गिरी, हरी र म कुराकानी गर्दै थियौं । ल आएका जतिले रमाईलो गरौंन भन्ने कुरा भयो र हामी सबै जना नाच्न थाल्यौं । साँच्चै त्यो समय हामी सबैले हाम्रा स्कूले दिनहरुलाई मज्जैले सम्झियौं । आफ्ना प्यारा र मन पर्ने सरहरुलाई पनि सम्झियौं । राजाको बारी, हामी अनि हाम्रा सम्झना सबै कुराको फ्ल्यास ब्याकमा गयौं हामी । त्यो पल अब कहिले पो आउला र हाम्रो जीवनमा तर पनि हामीले त्यही पललाई नै जीवन भरी नै पुग्ने सम्झनामा कैद गर्यौं ।
साथीहरु त सबै नै प्यारा अनि सम्झनामा अट्ने नै थियौं हामी । तर बिमला रेग्मी भने हामी सबैभन्दा केही फरक नै थिई । उस्लाई नुन या आलु यी दुई खाने कुरासंग तुलना गर्दा रत्तिभरीपनि फरक पर्दैन । स्कूले जीवनमा पनि ऊ एकदिन स्कूल नआउँदा त्यो दिन नै हामी सबैलाई खाली लाग्दथ्यो । त्यो शनिबारको हाम्रो पिक्निकमा पनि ऊ नआउँदासम्म हामी सबैलाई त्यस्तै लागी रहेको थियो । तर जब ऊ आई त्यसपछि भने माहोल नै बदलियो । रमाईलोको बहार आयो । बिमला आफैमा एउटा मिजासिली स्वभावकी साथी हो । र ऊ आजपनि उस्तै रहीछे । यो जानेर धेरै खुशी भयौं हामी ।
जागिरे जीवनमा भेटिएका साथीहरुभन्दा स्कूले साथीहरुकै सम्झना ताजा अनि पवित्र । कहिल्यै पनि भूल्न नसकिने । कति रमाईलो थियो त्यो पल । कास् त्यो समय फर्किएर आउने भए हामी फेरी त्यसैगरी जिउँथेउँ होला भन्दै यस्तै यस्तै गफ गर्दै थियौं । त्यत्तिकैमा पवित्रा शर्मा पनि आई पुगीन् । उनी अहिले पनि त्यस्तै जस्तो कक्षा १० पढ्दासम्म थिईन् । कति मेन्टिनियन्स राख्न सकेको होला है ? भन्दै हामी केहीले उनले नसुन्ने गरी कुरा गर्यौं । उनी मुस्कुराउँदै हामी नजीकै आईन् र सबैलाई भेट्न पाएकोमा खुशी लागेको बताईन् । यसैगरी सबै साथीहरुको भेला भयौं । कतिलाई सम्झियौं तर सम्पर्क नभएको हुनाले त्यो पिक्निकमा खबर गर्न सकिएन । त्यसरी छुटेका सबैलाई हामीले सम्झियौ ।
एसएलसी दिएपछि हाम्रो त्यो पहिलो भेट थियो । कहाँ १० कक्षा पढ्दा खेरीको त्यो उमेर अनि चटक्क मिलेको शारीरिक बनावट र कहाँ अहिले उमेरसंगै जिम्मेवारीले थिचेको अहिलेको शारीरिक बनावट । शुरुमा त हामी सबैले एकअर्कालाई देखेर छक्कै पर्यौं । जे होस् ०५८÷०५९ का हामी ब्याजेहरु मध्य कसैलाई पनि कोभिडले नलगेकोमा हामी भेटिन पायौं अनि खुशी पनि साट्न पायौं । त्यो एक शनिबार हामी भेट भएका सबैकालागी फेरी त्यही स्कूले दिन फर्कियो । काम विशेषले आउन नपाएका अरु धेरै साथीहरुलाई सम्झंदै फेरी फेरी यस्ता कार्यक्रमको आयोजना गर्नु पर्छ है भन्दै स्कूूले साथी र सम्बन्धलाई बलियो बनाउने बाचा गरेर हामी सबैजना त्यो कार्यक्रम स्थलबाट बिदा भयौं ।






