काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएको छ । आयोगले आज सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो । यो वर्ष दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएका र यो सङ्ख्या गएको वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाई छ ।
चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताए । स्तरीकृत गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्चालन गर्ने संस्थाहरूको सिट निर्धारण गर्ने पद्धतिको विकास भएको उनको भनाई छ ।
सदस्य सचिव काफ्लेले नेपालमा एमबीबीएस २१ वटा संस्थामा पढाइने गरेको र त्यहाँ एक हजार आठ सय ९५ जना विद्यार्थीले यो वर्ष पढ्न पाउने बताए ।
उनले यो वर्षस्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रावृत्ति पाउने बताए । सदस्य सचिव काफ्लेले एमबीबीएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराएको जानकारी दिए । उनले वदेशी विद्यार्थीलाई नेपालमा झन्डै १३ सय सिट दिने गरेको उल्लेख गर्दै एमबीबीएसमा मात्रै पाँच सय ५७ जनाले अध्ययन गर्न पाउने बताए ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोग अन्तर्गतको योजना, समन्वय तथा प्रज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा. डा. रमेशप्रसाद आचार्यले देशमा नर्सिङ पेसालाई व्यवस्थित बनाउन नसक्दा नर्स पढेर बेरोजगार बन्ने मात्रै काम भइरहेको गुनासो गरे । उनले नर्सिङ अध्ययन गर्नेले जागिर नपाएको भन्दै यसलाई सरकारले थप चासोका साथ लिनुपर्ने बताए ।
यस्तै १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको उनको भनाई छ । बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने उनले बताए । नर्सिङ जनशक्तिको आवश्यक भए पनि गुणस्तर र एक सय शय्याको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर्सिङ कार्यक्रम चलाउन नमिल्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै चिकित्सा शिक्षा आयोग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा. डा. दिलिप शर्माले २०७९ सालमा अहिलेसम्म एमबीबीएस अध्ययन गर्नका लागि एक सय ८८ जना नेपाली विद्यार्थी विदेश गएको बताए । त्यस्तै बीएसी नर्सिङमा २९, एलाइट साइन्समा ६६ र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएर विदेश अध्ययनका लागि गएको उनले बताए ।
निर्देशक शर्माले आधिकारिक रूपमा अनुमति लिएर विदेशिने ठूलो विद्यार्थीको सङ्ख्यालाई आयोगले कम गर्न सफल भएको दाबी गर्नुभयो । उनले अझै पनि एजेन्टको माध्यमबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको जानकारी दिए । निर्देशक शर्माले ६५ वटा चिकित्सा शिक्षासम्बन्धी अध्ययन, अध्यापन गराउने क्याम्पसमा स्तरोन्नति गरी सिट निर्धारण गर्ने सम्बन्धमा आयोगले चाँडै नै कति वटा शैक्षिक संस्थालाई अनुगमन गरेर अध्ययनका लागि योग्य छन् भन्ने निर्णय गर्ने बताए । यो समाचार उज्यालोमा रहेको छ ।






