काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने बताएका छन् । काठमाण्डौमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा नेता नेपालले ओलीको कुनैपनि हरकतप्रति आफुहरु चुप लागेर बस्दै तमासे नबन्ने बताएका हुन् ।
नेता नेपालले कानुन र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताए । उनले भने, ‘केपी ओलीले जे–जे गर्छन्, खुरु–खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौँ । यो सबै स्थितिको सिर्जना गर्ने कारक तत्त्व भनेको केपी ओली जी नै हो । ओलीले पार्टीबाट सुरु गरेर राज्यलाई आफ्नो कब्जामा पार्ने कोसिस गर्न थालेका छन् ।’
नेता नेपालले यो नेकपाभित्रको मात्रै आन्तरिक मामिला नभई देश, लोकतन्त्र, संविधान, विधि र कानुनी शासनको कुरा भएको बताए । संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णयविरुद्ध बिहीवार देशव्यापी आम हड्ताल गरेको प्रचण्ड–माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्याप्रति क्षमा पनि मागे ।






