काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ ।
करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ। त्यस्तै विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ। छ सय रुखमध्ये चार सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ ।
दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त डाँडाको दुई थुम्का कटानका लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ । विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई ध्यानमा राखेर उक्त डाँडा कटान गर्नुपरेको हो ।
प्रारम्भिक सर्भेअनुसार तीन लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ । सन् २०२१ को जुलाईभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तीय प्रगति भएको छ । प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गोलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको थियो । नयाँ विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ ।






