नेपालगञ्ज । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले घाँसे मैदान बनेको नेपालगञ्ज रंगशालाको घाँस कटान कार्य शुरु गरेको छ । उक्त समितिले रंगशालाको खेल मैदान मुनि बिच्छ्याईएको पाईपहरु बिग्रने डरले खेलाडीहरुलाई दैनिक रुपमा खेलकालागी अभ्यास गर्नबाट रोक लगाएको भन्ने समाचार सार्वजनिक भए लगत्तै घाँसे मैदान बनेको नेपालगञ्ज रंगशालाको घाँस कटान् कार्य शुरु गरेको हो ।
शुक्रबार रंगशालाको खेल मैदानमा उम्रिएका घाँसहरुलाई कटान् गरेर खेलाडीलाई खेल्ने वातावरण बनाउन क्षेत्रीय खेलकुद विकास समिति अग्रसर बनेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहले बताए । समाचारको प्रभावकै कारण क्षेत्रीय खेलकुद विकास समितिले रंगशालाको खेल मैदानमा उम्रिएको घाँस कटान गरेर खेलाडीलाई खेल्ने वातावण गराउने तयारीमा लागेको प्रति जिल्ला खेलकुद विकास समिति खुशी भएको समितिका बाँके अध्यक्ष सन्दिप जंग शाहले बताए ।
उनले भने,‘रंगशालाको सरफाई चाहे जिल्लाले गरोस् या क्षेत्रीय खेलकुद विकासले नै किन नगरोस् त्यो मेरोलागी ठूलो विषय भएन । मेरो र मेरो टिमकोलागी ठूलो विषय भनेको अब रंगशालामा खेलाडीहरुले नियमित रुपमा खेलकालागी अभ्यास गर्न र खेल खेल्न पाउने भए त्यो नै खुशीको विषय हो ।’ क्षेत्रीय खेलकुद विकास समितिले शुरु गरेको सरसफाई अभियानमा अध्यक्ष शाह आफै पनि सहभागी भएका थिए ।
उनले आफैले मेसिन चलाएर केही बेर खेल मैदानमा उम्रिएको घाँस काटेर कामदारलाई सहयोग गरेको बताए । ‘बिहानदेखि नै खेल मैदानमा घाँस कटान् शुरु भएको रहेछ म त्याहाँ पुग्दा सफाईको काम भई रहेको थियो । त्यो देखेर म निकै उत्साहीत भएँ र म आफैले पनि केही बेर आफै मेसिन चलाएर घाँस काटें र खेल मैदानलाई सफा गरें ।’ उनले भने,‘समाचार आएको २४ घण्टा नबित्दै क्षेत्रीय खेलकुद विकास समितिले यसरी काम गर्नु भनेको खेलाडीकालागी मात्र नभई हामी सबै नेपालगञ्ज बासीकैलागी निकै गौरवको काम गरेको हो ।’
‘रंगशाला प्रयोगही बन्नुमा क्षेत्रीय खेलकुद विकास समिति नै मुख्य कारक हो’ भन्ने शिर्षकको समाचार बिहीबार ‘हिमालय न्यूज हब’ ले सम्प्रेषण गरेको थियो । उक्त समाचार सम्प्रेषण भएको २४ घण्टा नबित्दै खेलाडीहरुलाई खेलकालागी अभ्यास गर्न नदिएर घाँसे मैदान बनेको रंगशाला सफाईमा स्वयम क्षेत्रीय खेलकुद विकास समिति नै लाग्नु भनेको यस क्षेत्रबाट राष्ट्रिय अन्तराष्ट्रिय स्तरको खेलाडी बन्न सक्ने योग्यता भएकाहरुका लागी निकै खुशीको कुरा हो । शुत्रबारदेखि घाँस काटेर खेल मैदान सफा गर्ने यो अभियान शनिबारसम्म सकिने छ ।






