काठमाण्डौ । नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा गाडी नागरिकका लागि प्रदर्शनीमा राखिएका छन् । बुधवार राजा त्रिभुवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा गाडी प्रदर्शनमा राखिएको हो । पुराना गाडीको भौतिक मर्मत र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ ।
प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा गाडी प्रदर्शनीमा राखिएको बताए । उनले स्व.राजा त्रिभूवन र महेन्द्रलाई उपहारस्वरुप प्राप्त भएको र उहाँको परिवारले प्रयोग गर्नुभएको गाडीहरु आजदेखि नागरिकले अवलोकन गर्न पाउनेगरी खुला गरेको बताए ।

सचिव न्यौपानेले आगामी दिनहरुमा पनि यहाँ थप सामग्रीहरु अवलोकनका लागि राख्दै जाने जानकारी दिए । संग्रहालयलाई थप व्यवस्थित बनाउन बजेट छुट्याइएको र संग्रहालय दरबार संग्रहालयकै रुपमा सञ्चालन हुने प्रतिवद्धता समेत व्यक्त गरे । त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित राजा त्रिभूवनले प्रयोग गरेको गाडी प्रदर्शनीमा राखिएको बताए । उनले राजा महेन्द्रले प्रयोग गरेको गाडी पनि प्रदर्शनीमा राखिएको जानकारी दिए ।
उनले राजाहरुले प्रयोग गरेका ४० वटा गाडी रहेको उल्लेख गर्दै आगामी दिनमा सबै गाडीलाई प्रदर्शनीमा राखिने बताए । आजबाट प्रदर्शनमा राखिएका तीन वटा गाडी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी हुन् । एउटा त्रिभुवनले काठमाण्डौमा शिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभुवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो । त्यस्तै अर्को गाडी भने स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएको थियो । जसलाई आजबाट नारायणहिटी दरबारमा नागरिकलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।






