काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याएर आफु सफल मन्त्री भएको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले आफू प्रक्रियामा भन्दा एक्शनमा विश्वास गर्ने राजनीतिक कार्यकर्ता भएको उल्लेख गर्दै चाँडै परिणाम दिनका लागि आफू क्रियाशिल भएको बताए ।
उनले जनतालाई छिटो, छरितो सेवा दिने विषयलाई आफूले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । मन्त्री आलेले आफूले स्वदेश तथा विदेशबाट ‘एक्शन मन्त्री’को उपमा पाएको र त्यसले आफूलाई ऊर्जा प्राप्त गरेको उल्लेख गरे । मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउन खोज्नेहरु आफ्नो निगरानीमा परेको बताए । उनले आफूले तल्लो तहको भन्दा माथिल्लो तहका कर्मचारीहरुलाई निगरानी गरेको स्पष्ट पारे ।
उनले काम गर्ने शिलशिलामा अदृश्य शक्तिकेन्द्रबाट दबाब तथा प्रलोभनहरु आएको भएपपनि आफूले दबाब र आर्थिक प्रलोभनको प्रवाह नगरी काम गरेको बताए। मन्त्री आलेले मुलुक, संविधान, नीति तथा कार्यक्रम, प्रचलित कानून, सरकारका प्राथमिकता र प्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेताहरुको मार्गदर्शनको आधारमा क्रियाशिल रहेको पनि बताए । उनले काम गर्ने क्रममा बोल्न नजान्नु आफ्नो नियत नभएको बताए ।
आफू सांसदको रुपमा रहिरहने भन्दै विकृति बिरुद्धमा निरन्तर खबरदारी गरिरहने बताए। मन्त्री आलेले समयले मागेमा मन्त्रीको भुमिकामा पुनः फर्किने बताए । उनले आफूले थालेका सुधारका कामहरुलाई नयाँ आउने मन्त्रीले निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने,‘म जनजातिको छोरो । स्पष्ट वक्ता । देश र जनतालाई प्राथमिकता दिई सधैँ काममा लागिरहें ।
मेरो दुईवटा बोली कहिल्यै भएन । काम गर्दै जाने सिलसिलामा कतै बोल्न नजानेको भए त्यो मेरो नियत नठानिदिनु होला । त्यस्ता त्रुटीमा म सचेत छु । रहिरहने छु । म यहाँबाट बिदा भएर सिंहदरबार बाहिर सांसदको भुमिकामा रहिरहने नै छु । विकृति विरुद्धमा मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु । पछि आउने नेतृत्वले मैले थालेको सुधारका कामहरुलाई निरन्तरता दिनुहुनेछ ।’ नागरिक दैनिकमा यो समाचार छ ।






