काठमाण्डौ । झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ । डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ । तल्लो डेकमा रेलवेको एक लाइन छ । दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन्। तल रेल गुडेको देख्न सकिनेछ । यो दृश्य हो बंगलादेशको गंगा÷जमुना नदीमाथि बनेको पुलको ।
विश्वको ध्यान तानिरहेको यो भौतिक संरचना नेपाली इन्जिनियरसमेतको सहभागितामा निर्माण भएको हो । उनी हुन् डा.हेमनाथ घिमिरे । डा. घिमिरेसहित पुल निर्माणको कन्सल्टिङमा योगदान गरेका विज्ञहरूको २४ मुलुकका झन्डा पुलमा फहराइएको छ । पुल उद्घाटन कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भावुक देखिन्थिन् । हसिनाको मन्तव्य सुन्दै गर्दा इन्जिनियर डा। घिमिरे झनै भावुक भए ।
ऐतिहासिक पुलमाथि फहराइरहेको नेपाली झन्डामा नजर डुलाए । ‘त्यो बेला म निकै भावविह्वल भएँ । त्यो क्षणको व्याख्या गर्न शब्दको अभाव महसुस गर्छु ।’, डा. घिमिरेले । इन्जिनियरिङ क्षेत्रमा यो पुललाई चमत्कारका रूपमा लिइएको छ । बहुउद्देश्यीय परियोजनाअन्तर्गत झन्डै साढे ४ खर्ब नेपाली रुपैयाँमा यो संरचना बनेको हो । यसले ९ म्याग्नेच्युडसम्मको भूकम्प थेग्न सक्ने जनाइएको छ । यसको लागत नेपालको वार्षिक बजेटको एक चौथाइ छ ।
अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेको पुल निर्माणमा अपनाइएको प्रविधि (फ्रिक्सन पेन्डुलम बियरिङ्स) अत्याधुनिक छ । यसको रोचक पाटो यतिमा मात्रै सकिएको छैन । लमजुङका डा. घिमिरे भूगर्भ र सुरुङ विज्ञका रूपमा खटिएका थिए । त्यहाँ माटोको अध्ययन गरे । त्यही उनको विज्ञताका कारण पुलमा नेपाली झन्डा फहराएको हो । अस्टे«लियाको स्मेक (स्नोइङ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन) मा जोडिन पुगेका घिमिरे १० वर्षअघि बंगलादेशमा जियोटेक्निकल इन्जिनियरका रूपमा पुगेका थिए ।
सुरुका तीन वर्ष उनी रेल निर्माण परियोजनामा आबद्ध भए । त्यसमा काम गर्दागर्दै पद्मा परियोजनाको कन्स्ट्रक्सनमा काम सुरु भयो । स्मेकले नै उनलाई पद्मा परियोजनामा जिओटेक्निकल विज्ञका रूपमा काम गर्न अनुरोध गर्यो । ‘पद्माजस्तो राष्ट्रिय गौरवको परियोजनामा जोडिन पाउँदा नकार्ने कुरै भएन ’, उनले भने । यस परियोजनामा १ हजारभन्दा बढी बंगलादेशी इन्जिनियर संलग्न छन् ।
डा. घिमिरे २०१४ को नोभेम्बरदेखि काममा संलग्न भएका हुन् । जियोटेक्निकल इन्भेस्टिगेसन (जमिनमुनिको सतहको अवस्था) बारे उनले स्ट्रक्चर इन्जिनियर एवं डिजाइनरहरूलाई जानकारी दिए । सन् २०१४ को अक्टोबरदेखि व्यवस्थापन र पूर्वाधारको काम सुरु भयो । पुलको मुख्य काम २०१५ मा सुरु भएको उनले बताए। ८ वर्षमा निर्माण सम्पन्न भएको उक्त ब्रिजको उद्घाटन सकिएको छ । ‘मुख्य काम सकियो। सानातिना काम मात्र बाँकी छ ।’ उनले भने ।
लागत साढे ४ खर्ब
बंगलादेशले साढे ४ अर्ब लागतको पुल बनाउन अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग गर्न हिचकिचाए । विश्व बैंकले सन् २०१२ मा पुल परियोजनाको ऋण सम्झौता रद्द गरेको थियो । त्यसपछि एसियाली विकास बैंक र जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका पनि पन्छिए । मुलुकका अर्थशास्त्रीले पनि दाताको सहयोग नलिई बनाउन नसकिने सुझाएका थिए ।
इन्जिनियर डा. घिमिरेका अनुसार प्रधानमन्त्री हसिनाको दूरदर्शिता एवं अठोटको परिणाम पद पुल सम्भव भएको हो । पुल निर्माण र नदी नियन्त्रणको लागत ३।८७ बिलियन (४ खर्ब ४९ अर्ब ९ करोडभन्दा बढी) छ । पुल ६.१५ किलोमिटर लामो छ । दुई खम्बाको बीचको दूरी १ सय ५० मिटर छ । हरेक खम्बामा जमिनमुनि ६ वटा छड्के पाइल (र्याकिङ पाइल) छ ।
जुन जमिनमुनि १ सय २२ मिटरसम्म छ । यो विश्वको सबैभन्दा गहिरो पिलर हो । ‘एक छेउबाट हेर्दा त हामीलाई समुद्र जस्तो लाग्न सक्छ ।मुख्य पुल ६ किलोमिटर र त्यसको दुई तिरको अप्रोचहरू जोड्दा करिब साढे ९ किलोमिटर जति छ,’ उनले भने । पश्चिम बंगालको कलकत्ताबाट गंगा नदी ढाका प्रवेश गर्छ । जसलाई बंगलादेशको ढाकामा पद्मा भनिन्छ । आसामबाट आउने ब्रह्मपुत्र पनि बंगलादेश प्रवेश गर्छ । जसलाई जमुना भनिन्छ । गंगा र जमुना मिलेपछि पनि पद्माकै नामले चिनिन्छ ।
रेलवे लिंकको काम हुँदै
पद्मा रेल लिंक भन्ने अर्को परियोजना छ । ढाकाबाट दक्षिण–पश्चिम जाने रेल लिंकको काम सुरुवात भइसकेको छ । यो पुलले बंगलादेशको दक्षिण–पश्चिम भू–भागलाई जोड्नेछ । ‘आवतजावत गर्न कठिनाइ थियो। विभिन्न दुर्घटना पनि हुन्थे । नदी पार गर्न पहिला ६ घण्टा लाग्थ्यो,’ घिमिरेले भने ।
दक्षिण–पश्चिमी भेगका २१ जिल्लाका बासिन्दाले पुल निर्माणपछि राहत पाएका छन् । बंगलादेशी जनता शेख मुजिबुर रहमान (प्रधानमन्त्री शेख हसिनाका पिता) लाई पनि स्मरण गर्छन् । पाकिस्तानबाट बंगलादेशलाई छुट्टै राष्ट्र बनाउन नेतृत्व गरेका बंगलादेशी नागरिक भन्छन्, ‘पिताले राष्ट्र दिए । छोरीले (पद्मा ब्रिज) पुल दिइन् ।’
को हुन् इन्जिनियर डा. घिमिरे ?
लमजुङको मस्र्यांदी–६ मा जन्मिएका डा. घिमिरे जिओटेक्निकल इन्जिनियर हुन् । ५६ वर्षीय डा। घिमिरेको बसोेबास भने चितवनमा छ । गाउँकै तत्कालीन चन्द्रोदय निम्न माविमा पढे । स्कुलमा उनी कहिले कक्षा प्रथम त कहिले स्कुलभरिमै प्रथम भए । १० वर्षको उमेरसम्म बाहुन डाँडामा बिताए । जिल्लास्तरीय परीक्षामा उत्कृष्ट भएपछि छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्न पाए ।
कक्षा ४ बाट १० सम्म पूर्ण छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने मौका पाए । २०३९ सालमा प्रथम श्रेणीमा एसएलसी गरे । एसएलसी दिएपछि बिदाको समयमा गाउँकै स्कुलमा ६–७ महिना पढाए। अमृत साइन्स कलेजमा आईएससी पढे। त्यसपछि शिक्षा मन्त्रालयमा कोलम्बो प्लानअन्तर्गत इन्जिनियरिङ छात्रवृत्ति पाए ।
खानी विधामा भारतको बंगाल इन्जिनियरिङ कलेज (इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी) कलकत्तामा पढे । चार वर्षको अध्ययन सकेपछि लोकसेवा परीक्षा उत्तीर्ण गरे । २०४८ सालमा खानी तथा भू–गर्भ विभागमा इन्जिनियरका रूपमा नियुक्ति पाए । जागिरकै क्रममा स्नातकोत्तर तहका लागि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजि (एआइटी) जीमा छात्रवृत्ति पाए ।
चट्टान र माटोको विषयमा अध्ययन गरे । स्नातकोत्तर सकेपछि खानी विभागमा फर्केर आए। तर, आफ्नो विज्ञताअनुसारको काम पाउन सकेनन् । २०५४ मा राजीनामा दिए । टनेलिङमा काम गर्न थाइल्यान्डको बैंकक पुगे । दुई वर्ष काम गरेका घिमिरेले जापानमा पीएचडी गर्न छात्रवृत्ति पाए ।
जापान सरकारको छात्रवृत्तिमा होक्काइडो युनिभर्सिटिबाट चट्टानको प्रकृतिका विषयमा विशेष अध्ययन गरे । ‘चार कक्षादेखि पीएचडीसम्म छात्रवृत्तिमा अध्ययन गर्ने मौका मिल्यो,’ उनले खुसी व्यक्त गरे । पीएचडी सकेपछि स्वदेश फर्किए । मुग्लिन–नारायणघाट सडकखण्डमा टेक्निकल प्रोजेक्ट म्यानेजरका रूपमा काम गरे ।
त्यसपछि शर्मा एन्ड कम्पनीमा आबद्ध भएर मेलम्ची खानेपानीको प्रवेश मार्गको निर्माणको काममा संलग्न भए । अस्ट्रेलियाको स्मेक (स्नोइङ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन) मा जोडिन पुगे । स्टिमोरमा अफगानिस्तान सडक निर्माणमा आबद्ध भए । त्यसपछि मलेसियामा झन्डै दुई वर्ष रेल मार्गको सुरुङको काममा संलग्न भए ।
त्यसपछि लाओसमा हाइड्रोपावरमा काम गरेको अनुभव छ। लमजुङ विद्युत् विकास कम्पनीमा जनरल म्यानेजरका रूपमा काम गरे । डा. घिमिरे झन्डै २ महिना जिओटेक्निकल इन्भेस्टिगेसनका लागि अझैं २ महिना बंगलादेश बस्ने योजना छ । त्यसपछि स्वदेश फर्कने तयारीमा छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।






