काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडी ‘बृहत सभा’ हुनेछ ।
नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए । मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापालगायतका नेताले सम्बोधन गर्दैछन् ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ । सभाका लागि दरबारमार्गको सडक अगाडी रहेका डिभाइर हटाइएको छ । यसअघि त्यहाँ सडक बीचबाट सावरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्ने बृहत् सभा हुने भएपछि डिभाइडर हटाइएका हुन ।






