काठमाण्डौ । आइतबार बिहान खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो । हरेक ४,४ वर्षमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले आयोजना गर्ने सम्मेलनको प्रमुख अतिथी थिए नास्टका कूलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।
१० बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब एक घन्टा ढिलो गरी सुरु भयो । प्रधानमन्त्री देउवा ११ बजे सभाहलमा प्रवेश गरेपछि कार्यक्रम बल्ल सुरु भयो । राष्ट्रिय गान र नास्टको गान बझेपछि पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत् उद्घाटन गर्ने तालिका थियो । त्यही बेला प्रधानमन्त्रीका एक जना सुरक्षाकर्मीले उनलाई मोबाइल दिए । मोबाइलमा उनले थिचेजस्तो गरेर सुरक्षाकर्मीलाई फिर्ता दिए ।
त्यसपछि देउवा पानसमा बत्तीमा बाल्न भनेर अगाडी जान खोजे ।तर बत्ती बलिसकेको थियो । यो देखेर देउवा केही क्षण अकमक्क देखिए । मञ्चमा आसिन एक जना अतिथीले उनलाई तपाईंले नै बाल्नु भएको हो भनेपछि प्रधानमन्त्री देउवा हाँसे । मोबाइलमा अन थिच्दा नै पानसमा बत्ती बलेको भनिदिएपछि उनी केहीबेर हाँसे ।
कूलपति एवं प्रधानमन्त्री विज्ञान सम्मेलनमा उपस्थिती हुने भएपछि नास्टले उद्घाटन सत्र केही विशेष बनाउन खोजेको थियो । विज्ञान सम्मेलन आयोजक समितिले राम लक्षमण इनोभेसनको सहयता लिने निर्णय गर्यो । ‘प्रधानमन्त्रीले नछोइकनमा पानसमा बत्ती बल्न सकिने प्रविधि बनाउन सकिन्छ भन्ने कुरा हामीलाई नास्टबाट बोलावट आयो,’ राम लक्षमण इनोभेसनका रामप्रसाद रिमालले भने ।
विज्ञान सम्मेलनको उद्घाटन सत्र विशेष गर्नुपर्ने भएकाले रिमालले आयोजकलाई रसायन, इलेक्ट्रोनिक्स, टेक्नोलोजी र वातावरणको संयोजन हुने गरी गर्न सकिने सुझाव दिए । यसका लागि रसायन प्रयोग गरेर बत्ती बाल्ने, इलेक्ट्रोनिक्स र टेक्नोलोजीको सहयताबाट गमलामा पानी हाल्ने सुझाव दिए । तर उक्त प्रस्तावमाथि आयोजकले चासो नदेखाएपछि ‘सर्ट सर्किट’ गराएर बत्ती बालिएको थियो ।
राम लक्षमण इनोभेसनले इन्टरनेट अफ थिंग्स (आईओटी) को माध्यमबाट यो बत्ती बालेको थियो । तर, प्रधानमन्त्रीका लागि मोबाइलमा थिचेर पानसमा बत्ती बालेको विषय नौलो भएकाले हाँसेका थिए । आईओटीले सर्भरमा डाटा पठाउने अनि सर्भरले फेरि प्रोसेस गरेर डिभाइसलाई पठाउँछ । आईओटी रिसिभर भएकाले मोबाइलसँग जोडिएको वाईफाईसँग (कनेक्टेड) भएको रिमालले जानकारी दिए ।
कसरी काम गर्यो ?
इनोभेसनका सञ्चालक रिमाल यो विषय सामान्य भएपनि नेपाली नेताहरुका लागि भने नौलो भएको बताउँछन् । नेताहरु पानसको छेवैमा पुगेर सलाईरलाइटर बालेर बत्ती बाल्छन् । तर बसेकै ठाउँबाट बत्ती बालेपछि प्रधानमन्त्रीका लागि नौलो हुन सक्ने उनी बताउँछन् । यो सिस्टमले काम गर्नका लागि मोबाइल, इन्टरनेट र आईओटी एप्सको भूमिका हुन्छ । रिमालले भने, ‘यसमा हामीले इन्टरनेट अफ थिंङ (आईओटी) प्रयोग गरेका हौं । त्यो चाही क्लाउडसँग टाँसिएको थियो । यसले आईओटी डिभाइसलाई दिएको संकेतको आधारमा काम गर्छ ’
उनले रियल टाइम इन्फरमेसन प्रयोग गरेर स्विच अन र अफ गर्ने गरी ुटगलिङु गरेका थिए । रिमालले त्यही अन अफ गर्नका लागि प्रधानमन्त्रीलाई सिकाउन खोजेका थिए । तर, उनका सुरक्षाकर्मीले लगेर दिए । मोबाइलमा अन थिचेपछि सर्भर (क्लाउड) मा संकेत जान्छ । त्यसपछि पानसमा राखिएको डिभाइसलाई निर्देशन गएको थियो । त्यहाँ सर्ट सर्किट हुँदा पानसमा भएको रेड फेस्फेट वाइटमा परिवर्तन भयो । उच्च तापका कारण ऊर्जा उत्पन्न भएपछि बत्तीमा सल्किएको उनले सुनाए ।
रिमाल भन्छन्, ‘ यो इन्भेन्सन केही पनि हैन । आईओटीबाट घरको बत्ती खोल्ने, बन्द पनि हुन्छ । सामान्य हो तर हाम्रो प्रधानमन्त्रीलाई राम्रो लागेछ, हाँस्नुभयो । ’ उद्घाटन सत्रमा प्रधानमन्त्री देउवालाई मोबाइल दिने बित्तिकै उनले हत्तपत्त थिचिदिए । रिमाल भन्छन्, ‘प्रधानमन्त्री ज्यूलाई म आफैं सिकाउन खोजेको थिएँ । उहाँले मोबाइल पाउने बित्तिकै ट्याक्क ट्याक्क थिचिदिनुभयो ।’
पानससँगै मोबाइलबाटै थिचेर गमलामा पानी हाल्ने पनि तयारी थियो तर दुई पटक अनअफ भएपछि थोरै पानी खसेको थियो । रिमाल भन्छन्, ‘प्रधानमन्त्री हाँस्नुभयो, त्यसैमा खुसी छु ।’ उनीहरुले यो कामलाई नास्टलाई स्वयंसेवकको रुपमा सहयोग गरेका हुन् । मंगलबारसम्म चल्ने सम्मेलनमा १५ वटा विभिन्न विधा र २० वटा विभिन्न विषयहरुमा गरी ३८० वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत हुँदैछन् । विज्ञान सम्मेलनमा नेपाल बाहेक भारत, पाकिस्तान, जापान, बेलायत, अमेरिका, चीन, जर्मनी, अस्ट्रेलियालगायतका देशहरुबा वैज्ञानिकहरुको उपस्थिती छ । यो समाचार कान्तिपुरबाट ।






