एजेन्सी । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्तासहितका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदमाथि गरेको टिप्पणीलाई लिएर भारत सरकार र खाडी देशसँग कुटनीतिक विवाद चर्किएको छ । भाजपाका नेताले मुस्लिम धर्मगुरु मोहम्मदमाथि अपमान गरेको भन्दै मध्यपूर्वमा विरोध भएपछि सत्तारूढ भारतीय जनता पार्टीले पार्टी प्रवक्ता नुपूर शर्मालाई निलम्बन गरेको छ ।
यसै विषयलाई लिएर दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, यूएई, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारतविरुद्ध आधिकारिक विरोध जनाएका छन् ।
ती देशले टिप्पणीलाई अपमानजनक भनेका छन् । ती देशले पैगम्बर मोहम्मदको अपमानको निन्दा गर्दै भारत सरकारले माफी माग्नुपर्ने माग गरेका छन् । १० दिनअघि भारतको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेको ती देशले बताएका छन् ।
भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेपछि विवाद बढेको छ । खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ट्वीट र टिप्पणीले भारत सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने जनाएको छ ।






