काठमाण्डौ । प्रविण खड्का । घर रामेछाप । हाल बसाई काठमाण्डौको अनामनगरमा । उनी आफ्नी आमाको सम्झनामा गजलहरु लेख्छन् । यस कारण उनले गजल लेख्ने गरेका हैनन् । कि उनकी आमा उनीसंगै भएर । यसकारण उनले आमाको सम्झनामा गजल लेख्छन् किनकी उनकी आमा उनीसंगै छैनिन् । प्रविणलाई उनकी आमाले यो संसारमा कहिल्यै नर्फकने गरेर छाडेर भने गएकी हैनन् । उनकी आमा यही संसारमा छिन् । तर कहाँ छिन् त्यो भने प्रविणलाई थाहा छैन ।
उनलाई सानो छंदाको सम्झना मात्र थाहा छ । सानोमा आमा घर वरपरको बाटोमा हिंडेको थाहा छ । त्यसैले त्यही सम्झनालाई ताजै बनाएर उनी र उनका भाईले वर्षौंसम्म आमा हिंडेको बाटोमा आमा आउँछिन् कि भनेर हेरिरहे, कुरिरहे अनि बोलाई रहे । तर आमा आईनन् । अहिले प्रविणको घरमा उनका बाबुले बिहे गरेर सानी आमा छिन् । उनी भन्छन्,‘घरमा बाबा सानीआमा हामी सबै छौं तर आमा जस्तो अरु कोही पनि नहुने रहेछ ।’
प्रविण र उनका भाई सानै छंदा उनका आमा र बाबा बीच के भयो त्यो प्रविणलाई थाहा छैन । तर काठमाण्डौमा दुई छोरालाई अलपत्रै पारेर उनकी आमा भने अर्कैसंग भागेकी रहिछन् भन्ने कुरा प्रविण र उनका भाईले ठूलो भएपछि थाहा पाएका रहेछन् । आमाले काठमाण्डौमा छाडेर गएपछि उनी र उनका भाईलाई बाबाले गाउँ लगेछन् । घर पल्तिरको नाता ठूलो बाबा र ठूलो आमा पर्नेले असाध्यै माया गरेको सम्झन् प्रविण । उनीहरुकै मुखबाट आफुले आमा अर्कैसंग भागेको थाहा पाएका रहेछन् ।
आमाको सम्झनामा प्रविणले धेरै गजलहरु लेखेका छन् । उनका गजलहरु सुन्दा जो कसैको पनि मन भक्कानिएर आउँछ । सानैमा आफु र भाईलाई छाडेर गएकी आमालाई प्रविणले जहाँ भएपनि खुशी भएर बस्नु भन्दै आमाको खुशीको कामना गरेका छन् । कुरा गर्दा उनको हाउभाउले आमालाई धेरै नै सम्झिएको झल्को पाईन्छ । आमा भन्ने शब्द नै यस्तो हो जोसंग छ त्यो संसारकै धनी र भाग्यमानी मान्छे नै हो । सानैबाट आमा आउने बाटोमा आफ्ना आखाँहरु ओच्छ्याई रहेका प्रविणले अझैंपनि आमाकै पर्खाई गरेको आभाष उनको भनाईबाट थाहा हुन्छ । भिडियोसहित






