धरान । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन । यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भि’डन्त हुँदैछ ।
वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई । उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल) । गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन् ।
निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ । कतिपय ठाउँमा झगडा नै पनि पर्छ । यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन् । तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन् ।
दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ । त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं ।’ अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए ।
त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो । उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन । जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो । मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो । गालीगलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न । त्यसैले हामीमा कुनै समस्या छैन ।’
उनले आफू ५ वर्ष वडा सदस्यको रुपमा गरेको कामको मूल्यांकन गरेर पार्टीले वडाध्यक्षको टिकट दिएको र मतदाताहरुले पनि त्यसरी नै मूल्यांकन गरेर मत दिने दाबी गरे । आफन्तजनहरुले पनि स्वविवेक प्रयोग गरेर मतदान गर्ने उनको भनाई छ ।
गठबन्धनका उम्मेदवार कृष्णलाई भने टिकट दिने बेला पार्टीले ज्वाँई जेठानको सम्बन्ध देखाएर प्रश्न गरेको थियो । तर, उनले नाता सम्बन्ध भएपनि राजनीतिक विचार, आस्था अलग अलग भएकोले कुनै समस्या नहुने भनेर नेताहरुलाई बुझाए पछि टिकट पाएका थिए ।
‘जेठानलाई मात्र होइन, कुनै पनि पार्टीको उम्मेदवारलाई जथाभावी गाली किन गर्ने ? तर मैले उहाँको कार्यकाललाई प्रश्न गरेको छुँ, कि ५ वर्षको बजेट कता कता गयो भनेर,’उनले भने,‘एजेण्डामा प्रश्न गर्ने हो । पाँच वर्षमा खानेपानी समस्या किन हल भएन भनेर सोधेको छुँ ।’
आफन्तजनहरुले दुवै जना एउटै पदमा उम्मेदवार भएर अफ्ठेरो भएको भन्ने गरेको पनि गठबन्धनका उम्मेदवार कृष्णले बताए। त्यसबेला जेठानको ५ वर्ष कार्यकाल मूल्यांकन गर्न आफुले आग्रह गर्ने गरेको उनले बताए । ‘अफ्ठेरो भयो भन्नुहुन्छ, म उहाँहरुलाई जेठानले एक कार्यकाल काम गर्नुभयो, त्यो मूल्यांकन गर्नुस् भन्छु । मैले जनप्रतिनिधि नहुँदा पनि के गरेको छुँ, त्यो पनि मूल्यांकन गरेर भोट दिनुस् भन्छुँ,’ उनले भने ।
दुवैको एजेण्डा, खानेपानी र लागुऔषध समस्या हल गर्ने
वडाध्यक्षको चुनावी मैदानमा होमिएका ज्वाँई र जेठानको चुनावी एजेण्डा अधिकांश समान छन् । दुवैले वडालाई लागुऔषध दुर्व्यसन मुक्त बनाउने र युवाहरुलाई रोजगारीमुलक सिप सिकाउने, खानेपानीको दीगो व्यवस्थापन गर्ने एजेण्डालाई प्राथमिकताका दिएका छन् ।
एमालेका उम्मेदवार हरि युवा पुस्तालाई दुर्व्यसनमुक्त गरेर सही बाटोमा हिडाउन योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने बताउँछन् । बालबालिका र किशोरहरुलाई कुलतमा फस्न नदिन टोल टोलमा मिनि बाल क्लब बनाउने र विदाको दिन पनि बाल क्लब जाउँ भन्ने वातावरण तयार गर्ने उनले बताए ।
‘५ वर्षपछि युवा हुन्छन् । उनीहरुलाई सिप दिन्छौं, र युवाहरु रोजगारमुखी हुन्छन्,’उनले भने,‘भौतिक पूर्वाधार विकास, खानेपानीको सहज व्यवस्थापन, अर्गानिक कृषि उपजलाई प्राथमिकतालगायत एजेण्डा छन् ।’ गठबन्धनका उम्मेदवार कृष्ण पनि आफ्नो पहिलो प्रथामिकता वडामा माग बमोजिमको खानेपानी आपूर्ति र वितरण रहेको बताउँछन् ।
पछिल्लो समय लागुऔषध दुर्व्यसनको समस्या बढीरहेको भन्दै उनले युवाहरुलाई कुलतबाट जोगाउन बिशेष योजना बनाउने बताए । पुर्व फुटबल खेलाडीसमेत रहेका उनले खेलकुदको विकासमा प्राथमिकता दिँदै युवाहरुलाई विभिन्न खेलमार्फत सही बाटोमा हिँड्न प्रेरित गर्ने पनि बताए । ‘डिप बोरिङ गरेर पानीको आपूर्ति बढाउनेछुँ ।
खेलकुदको पुर्वाधार विकास र व्यवसायिक खेलाडी उत्पादन गरेर युवाहरुलाई कुलतबाट जोगाउन पहल गर्नेछुँ,’उनले भने,‘शिक्षाको पुर्वाधार र गुणस्तर विकासमा ध्यान दिनेछुँ । सुकुम्बासीहरुलाई सुरक्षित बास र सेवा, सुविधा पुर्याउनेछुँ ।’ नगरिक दैनिकमा यो समाचार छ ।






