काठमाडौ । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले घोषणा गरेको आम हड्तालको बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीलाई जलाईएको हो ।
आगजनीबाट ट्याक्सी पूर्णरुपमा ध्वस्त बनेको प्रहरीले जनाएको छ । त्यसैगरी बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट प’क्रा’उ गरेको छ । उनी प’क्रा’उ परेको खबर नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्,‘आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट प’क्रा’उ गरेको छ ।’
प्रचण्ड माधव पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दाहाल नेपाल समूहले बन्दको आवह्वान गरेसंगै हिजो नै गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह समेत गरेको थियो ।
मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ । मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको थियो ।
बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन् । भने फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन् । अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ।






