एजेन्सी । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो । केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेको दृश्य सार्वजनिक भएको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि लगाइएको थप प्रतिबन्धको स्वागत गरेका छन् । तर यी प्रतिबन्ध पर्याप्त नरहेको जेलेन्स्कीको टिप्पणी छ ।
उनले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा देशहरुलाई आग्रह गरेको बीबीसीले जनाएको छ । साथै उजले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्णरूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए ।






