काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका नेताहरु गएको आरोप लगाएका छन् । बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन् ।
ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरुको मुकुण्डो खुइलिएको तर्क गरे । उनले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताए । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न समेत उलने सुझाव दिए ।
ओलीले दाहाल नेपाललाई प्रश्न गर्दै जनताले बन्द नभई निर्वाचन चाहेको बताए । ‘जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो ? बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन् ।’ उनले भने ।






