एजेन्सी । यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ । उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ । यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ ।
गत जनवरी ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए । त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले स्थानीय निकायमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पक्राउ गरेको थियो ।
लगत्तै साइबर क्रा इ मको मु द्दा लगाई अबुधावीस्थित अनुसन्धानको लागि अल वाथ्बा जेलमा राखिएको थियो । अन्ततः सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर यूएई अदालतले यस्तो फैसला सुनाएको हो । पाण्डे केही वर्षदेखि स–परिवार यूएई बस्दै आएका छन् । उनको श्रीमती र एक छोरा छन् ।






