काठमाण्डौ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा। भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ । सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीस) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो ।
उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन् । यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिएको थियो । बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजे र शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको हो ।
शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि थप छलफलका लागि बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको हो । सत्ता गठबन्धन र विपक्षी दलसँग प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सहयोगका लागि अनुरोध गरेका छन् । विभिन्न चरणमा भएका छलफलमा एमसीसी अगाडि बढाउने विषयमा दलहरु सहमति नजिक पुगेको बताइएको छ ।
प्रतिपक्षी दल एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने अडान लिएको छ । एमालेको यो अडानपछि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सत्ता गठबन्धनभित्रै सहमति खोजेका हुन् । सत्ता गठबन्धनमा रहेका माओबादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको व्याख्यात्मक घोषणासँगै पारित गर्ने तयारी गरेका छन् ।
संसद बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिमा कार्यसूचीमाथि छलफल हुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन् । समितिको बैठक नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। बैठकले कार्यसूचीको तय गर्नेछ । त्यसअघि सत्ता गठबन्धनका नेताबीच एमसीसीको विषयमा थप छलफल हुँदैछ ।






