सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन । सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन उनले भने, “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।”
अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनरायण यादवका शालिकमा माल्यार्पणसमेत गरे । “संसद् विघटन संवैधानिक छ”, अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, “संसद् विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।”
नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने ,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरुले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरुले भने जस्तो संसद् विघटन असंबैधानिक होइन, संवैधानिक छ । मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले जनतालाई अल्मलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँगाउँमा जान नेताकार्यकर्तालाई निर्देशन दिए ।
“नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ,“ प्रधानमन्त्री ओलीले भने,“ हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाइँहरु धैर्य गर्नुस्, तपाइँहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।” उनले अब तराई–मधेश भएर बग्ने ठुल्ठुला नदी र कोशी–कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामा जोड दिए ।






