काठमाण्डौ । एसोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्वकै उत्कृष्ट विद्यार्थी बनेकी छन् । उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिन्दै विश्वकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी हुन् ।
उक्त परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए । २० वर्षीय मानन्धर हाल ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत छन् ।, जस्लाई एसीसीएको सम्बन्धन प्राप्त कलेजको रुपमा चिनिन्छ । उनले दुई सय पाउन्ड स्ट्रलिङका साथसाथै एसीसीएबाट प्रमाणपत्र पनि पाउनेछिन् ।
एसीसीएका नेपाल प्रमुख रविन कटवालले नेपालका लागि यो ठूलो उपलब्धि भएको र यसले विद्यमान तथा भविष्यमा पनि एसीसीएमा आबद्ध हुन चाहने विद्यार्थीका लागि ठूलो सम्भावना रहेको पुष्टि भएको बताए । विश्वव्यापी संयन्त्र भएको एसीसीएमा दुई लाख ३३ हजार पेशागत एकाउन्टेन्ट आबद्ध छन् ।
जसमा १७८ देशका पाँच लाख ३५ हजार विद्यार्थी छन् । नेपालमा एसीसीएमा आबद्ध झण्डै तीन हजार विद्यार्थीले एमसीए कोर्स अध्ययन गरिरहेका छन् । एसीसीएका झण्डै पाँच सय सदस्य नेपालमा विभिन्न ओहोदामा काम गरिरहेका छन् ।






