काठमाण्डौ । चर्चित चार क्रिकेटरहरूले आफुहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीले क्यानसँग सो आग्रह गरेका हुन् ।
उनीहरूले नेपाली क्रिकेटमा विकसित भैरहेका पछिल्ला घटनाक्रमले आफुहरूलाई निकै दुःखी बनाएको बताउँदै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् । विज्ञप्तिमा उनीहरूले भनेका छन्,‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं,
खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’
क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे माओबादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले असहमति जनाएका छन् । उनले यस विषयमा आज (शुक्रबार) प्रधानमन्त्रीलाई भेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।






