काठमाण्डौ । बैंकले १० फिटे मोटर बाटो पुगेको जग्गालाई ऋण दिँदा गरिब किसान मर्कामा परेको अर्थ मन्त्री जनार्दन शर्माले बताएका छन् । मन्त्री शर्माले उक्त विषयलाई ध्यानमा राखेर बैंकले सडकले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न बैंकहरूलाई आग्रह गरेका छन् । शुक्रवार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग देशको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन् ।
मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले बैंकको ऋण नपाइरहेको बताए । ‘ऋण दिन बैंकहरूलाई १० फिटे ठूलो मोटर बाटो चाहिन्छ’, उनले भने,‘तपाईँहरू ओखर फल्ने जग्गासमेत धितो लिन मान्नुहुन्न । कृषि ऋणमा तपाईँहरूले कृषिमा आधारित धितो लिन सक्नुपर्यो ।’
मन्त्री शर्माले पछिल्लो समय बैंकहरूले कर्जा सीमा पूरा गर्न लागेको तर्फ सङ्केत गर्दै अब क्षेत्रगत कर्जा प्रवाहको अवस्था अध्ययन गर्नसमेत आग्रह गरे । उनले ऋणीले कुन क्षेत्रमा कति लगानी गरेको छ भनेर बैंक आफैँले पनि अनुगमन गर्ने र त्यसको तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बताए । बैंकहरूले ऋणीको तथ्याङ्कलाई अद्यावधिक गरेमा ऋण प्रवाहमा समेत सहज हुने उनले बताए ।
त्यस्तै बैंकहरूले कर्जा प्रवाह गर्न नसक्ने भएमा बैंककै अर्थ नहुने भन्दै राष्ट्र बैंकले समय अनुकूल नीतिमा परिमार्जन गरेर अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । पछिल्लो समय बजारमा तरलता अभाव हुनुपर्ने गम्भीर र विशिष्ट कारण नभएको भन्दै मन्त्री शर्माले अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताए । अहिले देखिएको तरलतालाई अल्पकालीन रूपमा सरकारी पुँजीगत खर्च बढाउने तथा वैदेशिक स्रोतको व्यवस्थापन गरेर गर्न सकिने समेत मन्त्री शर्माले बताए ।
उनले उत्पादन क्षेत्रमा पुँजी परिचालन गरेर मात्र तरलताको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सकिने बताए । ‘उत्पादन क्षेत्रमा पुँजी परिचालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ’, उनले बैंकहरूलाई आग्रह गर्दै भने,‘बैंकहरूले अनुत्पादक क्षेत्रहरूमा लोन दिन कडाइ गर्नुपर्यो । हामीले अहिले आयातमा केही कडाइ गरेका छौँ । त्यस्तै गरेर बैंकहरूले पनि कडाइ गरिदिनुपर्यो ।’






