काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो । तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन ।
आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ । केही दिनयता आपसमा संवाद नभए पनि साझा उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन् । भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४ औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए ।
भदौ १८ बाट कांग्रेसको वडा अधिवेशन सुरु हुँदै थियो । कमसेकम वडा अधिवेशनअघि साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास थियो । यसका लागि पौडेल पक्षका नेताहरूले लगातार ३ दिनसम्म बैठक गरेका थिए । साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन । भदौ १७ को पत्रकार सम्मेलनपछि साझा उम्मेदवार तय गर्ने विषयमा पौडेल पक्षका नेताहरूले संवाद नै गरेका छैनन् । पौडेल पक्षले गत सोमबार आफूनिकट केन्द्रीय सदस्यको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको थियो । उक्त बैठकमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफलै भएन ।
डडेलधुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय उक्त बैठकले गरेको थियो । यो निर्णय गर्न पौडेल पक्षलाई सकस भएन । तर साझा उम्मेदवार टुंगो लगाउन भने सकस पर्ने देखिन्छ । उम्मेदवारी घोषणा गरेका शेखरले जतिसक्दो छिटो साझा उम्मेदवार घोषणा हुने बताए । ‘हामीले जतिसक्दो चाँडो साझा उम्मेदवार घोषणा गर्छौँ’, उनले भने, ‘संवाद नभएको भन्ने होइन, हामीबीच संवाद जारी छ ।’
डडेलधुरामा भएको वडा अधिवेशनले पनि यसलाई विषयान्तर गरेको उनले बताए । तर पौडेल पक्षकै नेता बलबहादुर केसीले भने भदौ १७ पछि साझा उम्मेदवार चयन गर्ने विषयमा संवाद नै नभएको बताए। ‘काठमाडौंमा हुँदा बैठकका लागि मैले समन्वय गरेको थिएँ, अहिले म काठमाडौंबाहिर छु’, उनले भने, ‘त्यसैले बैठक हुन सकेको छैन ।’
पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन् । उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन् । यसले साझा उम्मेदवार तय गर्न बाधा पर्ने देखिन्छ। पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका शेरबहादुर देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ । नागरिक दैनिकबाट ।






