काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, “औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ ।
यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।” सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताएका छन् । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारे ।
एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको बताउँदै उनले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएको बताए ।स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको उनले बताएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको ओलीद्वारा जारी संदेशमा उल्लेख छ । नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै उनले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको गरेका छन् ।
प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८ र ७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्दै मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्याईने बताएका छन् । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपियाँबाट ७७ रुपियाँ हुनेछ ।






