काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौ उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ भएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएपछि निषेधाज्ञामा कडाई गरिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भएको थियो । शुक्रबार (आज) देखि भने सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार पहिलो दिन भएर सवारीसाधनलाई केही खुकुलो गरिएको भए पनि आजबाट नै कडाई हुने छ ।
सरकारको निर्देशन कडाइका साथ पालना गराइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । प्रहरीका अनुसार सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । अत्यावश्यकबाहेक काठमाडौ प्रवेशमा रोक लगाइएको छ । पास वितरणमा पनि कडाइ गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनहरूले सरकारी सवारी साधनमा जोरबिजोर लगाउने तयारी गरेका छन् । यसका साथै काठमाडौ प्रवेश गर्ने सार्वजनिक सवारी साधनले पनि अनुमती पाउने छैनन् । सम्बन्धित जिल्लालाई रात्रि बस नपठाउन पत्राचार गरिएको छ ।






