बाँके । पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भएको छ । जसका कारण सङ्क्रमितहरू सहजै उपचार पाउन सकिरहेका छैनन् । गएको वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ ।
गएको १२ दिनअघि कोरोना सङ्क्रमित हुनुभएका दाङ तुलसीपुरका सन्तोष वली भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेको भेटिनुहुन्छ । आफूसँगै सङ्क्रमित श्रीमतीको उपचारका लागि उनको दौडधुप बढेको हो । अस्पताल बसाइ उनका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उनले कोरोना सङ्क्रमणकै कारण छोरी गुमाएका छन् ।
दाङमा स्टाफ नर्सको रूपमा कार्यरत रहँदा उहाँकी छोरी सङ्क्रमित हुनुभएको थियो । उपचारकै क्रममा उहाँको ज्यान गयो । यस्तो पीडाका बीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उनको गुनासो छ । यो त प्रतिनिधि घटना मात्रै हो । भेरी अस्पतालमा यसै गरी कोरोना सङ्क्रमित भइ छटपटाइरहेकाहरू धेरै भेट्न सकिन्छ ।
भेरी अस्पतालको कोरोना बेड भरिएपछि स्थिति नियन्त्रण बाहिर गएको हो । कोभिडका लागि छुट्याइएको एक सय ४२ बेड भरिए पनि सङ्क्रमित अस्पताल भर्नाका लागि आउने क्रम जारी छ । कोभिडका बिरामीलाई भर्ना गर्न नसकेर मुकदर्शक भएर बस्नुको विकल्प नभएको चिकित्सकहरूले बताएका छन् । आइसोलेशनको अभावका कारण सङ्क्रमितहरू उपचार पाउनबाट वञ्चित छन् ।
अस्पतालमा जटिल अवस्थाका बिरामीहरू थपिने क्रम बढ्दो छ । भर्ना भएका बिरामीहरू डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउने अवस्था रहेको भेरी अस्पतालका फिजिसियन डाक्टर सङ्केत रिसालले बताए । जिल्लाभर एक हजार दुई सय ६६ सक्रिय सङ्क्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेशन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेशनमा छन् ।
भेरी अस्पतालले कोरोनाको सङ्क्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने बताइसकेको छ । दैनिक एक सयभन्दा बढी कोरोनाका बिरामी थपिँदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको ज्यान गएको छ ।






