काठमाडौ । कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा। अच्युत कार्कीले थाहाखबरलाई जानकारी दिए ।
उनका अनुसार संक्रमित सबै युवा उमेरका छन् । संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए । अहिले संक्रमितमध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए ।
डा. कार्कीले भने,‘कोरोनाविरुद्धको खोप पहिलो मात्रा लगाइसकेकालाई पनि संक्रमण भएको छ। संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गरी मास्क लगाउनुपर्छ ।’ पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको उनको दाबी छ ।
कोरोना संक्रमितका लागि वीर अस्पतालमा हाल ६३ बेड रहेको छ । १० वटा आइसियु र १० भेन्टिलेटर रहेको उनले जानकारी दिए । दैनिकजसो संक्रमित थपिएकाले अस्पतालमा बेडको संख्या थपिँदै लगिएको उनले जानकारी दिए ।
दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिइरहेका छन् । कुल संक्रमित ३३ जनाले अस्पतालमा उपचार गराइरहेका छन् । आइसियुमा ८ जना र भेन्टिलेटरमा ३ जना राखी उपचार गरिरहेको उनले बताए । यो समाचार थाहा खबरमा छ ।






