काठमाडौ । कोरोनाको दोस्रो चरणको महामारी फैलने संकेत देखिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।
पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित भइ पठनपाठन सञ्चालन हुँदै आएको छ ।
चिकित्सकहरुले पछिल्लो पटक कोरोना संक्रमितहरुमा आइसियुमा जाने ५० प्रतिशत युवा वर्ग छन् । कोरोनाको नयाँ भेरियन्टले युवा वर्गलाई प्रभाव पारिरहेको प्रति चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । अघिल्लो पटकको कोरोना महामारीमा संक्रमित भएर उपचारका लागि आइसियु आवश्यक पर्ने वृद्ध अवस्थाका धेरै थिए भने अहिले युवा समुहका ५० प्रतिशतलाई आइसियुमा राखेर उपचार गर्नु परेको चिकित्सकको भनाई छ ।
काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा बिहीबार १३ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत् छन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला यो तथ्यांकका कारण चिन्तित छन् । नेपालमा भेटिएका कोरोनाको पहिलो बिरामीदेखि उपचारमा खटिइरहेका उनले यसअघि आइसीयू तथा भेन्टिलेटरमा पुगेकामध्ये अधिकांश बृद्धहरु हुने गरेको बताए । तर केहि समययता आईसीयूमा भर्ना हुनेमा युवाहरुकै संख्या बढेको र यो स्थिति चिन्ताजनक रहेको उनी दोहोर्याउँछन् ।
‘अहिले हाम्रो आइसीयूमा रहेका १३ मध्ये आधा बिरामी ५० वर्षमुनिको युवा उमेर समूहका हुनुहुन्छ,’ बास्तोलाले भने, ‘यसअघि बृद्ध बिरामीलाई कोरोनाले बढी जटिलता ल्याउँथ्यो र उहाँहरुलाई आइसीयू–भेन्टिलेटरमा भर्ना गर्नुपर्थ्यो तर अहिले त त्यो क्रम युवापुस्तामा देखिन थालेको छ ।’ भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको छ । दैनिक लाखौं नागरिक संक्रमित हुन थालेका छन् । नेपालमा पनि दोस्रो लहरको संकेत देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।






