काठमाडौ । सरकारले विदेशमा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन गर्न सर्तसहितको अनुमति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
योपनि पढौं
वैशाखभित्र तामाकोसीको विद्युत्
काठमाडौ । स्वदेशी लगानीमै निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट वैशाखमा विद्युत् उत्पादनको तयारी भएको छ । बाँकी काम १० वैशाखभित्र सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाउने गरी काम भइरहेको छ । त्यसपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरी त्यस क्रममा जटिल समस्या नआए ७ देखि ९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण सफल भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६÷६ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । त्यस क्रममा पहिलो युनिटबाट वैशाखभित्र विद्युत् उत्पादन सुरु हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । पहिला पहिलो युनिटबाट र त्यसपछि बाँकीबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । अहिले माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा भइरहेको छ। पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम वैशाखभित्र सम्पन्न गर्ने प्रतिबद्धता लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले जनाएको छ ।
हाइड्रोमेकानिकलतर्फ केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी काम सम्पन्न गरी वैशाख दोस्रो हप्तादेखि पेनस्टक र मुख्य सुरुङमा पानी हाल्ने गरी काम भइरहेको हो। त्यसपछि पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइपजस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य छ ।
मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायत सिभिल संरचना निर्माण भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायत सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
‘भूकम्प, बाढीपहिरो, कोरोना कहरजस्ता विभिन्न समस्या झेल्दै आएको आयोजनालाई हामीले निरन्तरको प्रयासबाट विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं’, प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘निर्धारित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी काम समानान्तर रूपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ । चालु वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनुपर्छ ।’
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका शाक्यले सोमबारदेखि दुई दिन निर्माणस्थल अवलोकन गरेका थिए । त्यस क्रममा शाक्यले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रूपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारे छलफल गरेका थिए ।
यो आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको २ गरी ५१ प्रतिशत सेयर स्वामित्व संस्थानको छ । बाँकीमध्ये सर्वसाधारणको १५, दोलखावासीको १०, संस्थानका कर्मचारीको २४ प्रतिशत छ । आयोजनाको सुरुको लागत ३५ अर्ब रुपैयाँ रहेकामा हाल ७६ अर्ब रुपैयाँ पुगेको छ । यसमा निर्माण अवधिको ब्याज, विदेशी मुद्रामा भएको अधिमूल्यन, डिजाइन परिवर्तनलगायत मूल्य समावेश गरिएको जनाइएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापन हुँदा एक अमेरिकी डलरबराबर ७२ रुपैयाँ थियो । आयोजना पूरा हुन्जेल प्रतिडलरको भाउ ८० रुपैयाँसम्म पुग्ने अनुमान थियो। तर, प्रतिडलर १ सय रुपैयाँभन्दा माथि पुगेको छ । लागत बढ्नु र आयोजना पाँच वर्षप्छि धकेलिनुमा भूकम्पलगायत विभिन्न कारण देखिएका छन् ।
भौगोलिक कारणले डिजाइन परिवर्तन गर्नुपर्दा १८ महिना, भूकम्पले संरचनामा असर गर्दा एक वर्ष, कोभिडले ६ महिना, भारतीय ठेकेदार कम्पनी टेक्सम्याका कारण दुई वर्ष ढिलाइ भएको हो। भूकम्पअघि ९२०७१ चैतसम्म० आयोजनाको काम ७९ प्रतिशत पूरा भएको थियो ।
प्राधिकरणले राष्ट्रिय गौरवको यो आयोजनाको कार्यालय २०६३ फागुन २५ गते स्थापना गरेको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ सालमा शिलान्यास गरेका थिए । यो आयोजना ०७३ सालमा सम्पन्न गर्ने लक्ष्य थियो । पछिल्लो म्याद चैतसम्म तोकिएको थियो ।
लट २ को ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायत हाइड्रोमेकानिकल उपकरण उत्पादन र जडानमा ढिलाइ भई आयोजनाको समग्र निर्माण प्रभावित भएको हो ।
भूकम्पले गर्दा काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकेदारलाई दिइएको थियो ।
आयोजनाले चरिकोट (दोलखा) सिंगटी ३५ किलोमिटर सडकमा १ अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो। सिंगटीबाट बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाइएको छ ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत् आयोजना अघि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साविकका २० गाविसका जनतालाई आवतजावत सहज भएको आयोजनाले जनाएको छ ।






