काठमाडौ । सरकारले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरिद गरेको बाँकी १० लाख डोज कोरोना विरुद्धको खोप वैशाखभित्र उपलब्ध गराउन तेस्रो पटक पत्राचार गरेको छ ।
सिरमले उपलब्ध गराउनु पर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले पुनः पत्र पठाएको हो ।गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो ।
बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाल सरकारलाई लेखेको थियो । खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ ।
भारतभित्रै ब्यापक माग भइरहेको अवस्थामा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो । तर, भारतीय विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ ।
नेपालमा सिरमले उत्पादन गरेको कोभिशिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् । यसअघि, भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने सरकारले खरिद गरेको १० लाख डोज सिरमले उपलब्ध गराएको थियो ।
यसैबीच खोप उपलब्ध गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन् । त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । यस्तो छ परराष्ट्रको विज्ञप्ति






