चितवन । गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो । त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो । झन्डै १२ किलोमिटर दूरीको कोलकत्ता टापुसम्म पुग्यो ।
शुक्रबारको गणना कार्य सकिन २० मिनेटजति बाँकी थियो । गणक टोली चढेको हात्ती र ध्रुवेको दिउँसो साढे २ बजे जम्काभेट भयो। ध्रुवे देखेपछि गणनाका लागि प्रयोग गरिएका हात्ती तर्सिए। हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
‘जंगली हात्तीसँग अचानक जम्काभेट हुँदा घरपालुवा हात्तीहरू तर्सिए’, सूचना अधिकारीले भने, ‘हात्ती उफ्रिन थाल्दा मान्छे खसेर घाइते भएका हुन् ।’ त्यस क्रममा गणक र हात्तीसारेसहित पाँच जना घाइते भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ ।
श्रेष्ठलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । उनलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचार गरिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।






