काठमाणडै । काठमाडौका धारामा आइतबार दिउँसो मेलम्चीको पाउन आउन शुरु भएको छ। काठमाडौं उपत्यकामा पहिलो पटक मेलम्चीको पानी वितरण शुरु भएको हो। महांकाल क्षेत्रबाट मेलम्चीको पानी वितरण शुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटिेड (केयूकेएल) ले जनाएको छ । केयूकेएलका अनुसार आइतबार दिउँसो दुई बजे महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण गरिएको छ ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट चक्रपथ वितरणका लागि बिछ्याएको पाइप लाइनको परीक्षण सफल भएपछि महाँकाल चौरस्थित ट्यांकीमा मेलम्चीको पानी आइपुगेको हो । पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिइएको केयूकेएलले जनाएको छ । यस्तै नयाँ पाइप लाइनको परीक्षणपनि सँगसँगै गरिँदै जाने सफल भएका स्थानमा वितरण गरिने बताइएको छ ।
पहिलो चरणमा आइतबार दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा मेलम्चीको पानी जम्मा हुने केयूकेएलले जनाएको छ । आइतबार साँझ अनामनगर, मीन भवन तथा खुमलटार क्षेत्रमा मेलम्चीको पानी वितरण हुनेछ ।
बहुप्रतिक्षित मेलम्चीको पानी वितरण आज (आईतबार) देखि सुरुवात हुने भएको छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नियमित रुपमा भने पानी भोली सोमबारदेखि वितरण हुने बताएको छ । शुक्रबार मेलम्चीबाट छोडिएको पानी आइतबार बिहान १० बजे काठमाडौंका बिभिन्न ट्यांकीमा झर्ने पूर्व निर्धारित कार्यतालिका छ । ट्याकीं भरिन केही समय लाग्ने छ। त्यसपछि पानी उपभोक्ताका धारामा पुग्ने छ ।
अहिलेसम्म काठमाडौंका धारामा पानी गई नसके पनि आजैदेखि मेलम्चीको पानी वितरण गर्न सुरु गरिने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए । महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी आउँने छ । अरु ठाउँको वितरण प्रणाली चुस्त दुरुस्त बनाउँदै अन्य क्षेत्रमा पानी धमाधम पठाईने प्रवक्ता राईले जानकारी दिए ।
पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिने योजना छ । ‘मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो ।
लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ। समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको छ। धेरै ठाउँमा पाइपहरु बिछ्याउने र पुरानो वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउने काम भइरहेको छ’ उनले भने ।
उनले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाइपहरु पुराना भएकोले पानी चुहावट समस्याको रुपमा रहेकोले सम्भावित समस्यालाई ध्यानमा राखी निर्माण व्यवसायीहरुलाई तयार अवस्थामा राखिएको बताए । सुरुमा सबै १७ करोड लिटर पानी धारामा आउने छैन । कतै पुराना पाइप त कतै पुराना वितरण प्रणाली भएकोले चुहावटको सम्भावना छ ।
त्यसैले समस्याको समाधान गर्दै विस्तारै मात्रै सबै १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा बाँडिने छ । थोरै परिमाणमा पानी आए पनि सबैतिर पानी वितरण गर्ने योजना छ । पहिलो चरणको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आएको आयोजना निर्देशनालय कार्यलयले जनाएको छ । तर, सुरुवातमा भने थोरै परिमाणमा मात्र पानी वितरण केन्द्रहरुमा पठाइने तयारी गरिएको आयोजनाका उपनिर्देशक उज्जवल प्रजापतिले जानकारी दिए ।
‘सुरुमा सबै १७ करोड लिटर पानी धारामा आउने छैन। कतै पुराना पाइप त कतै पुराना वितरण प्रणाली भएकोले चुहावटको सम्भावना छ। त्यसैले समस्याको समाधान गर्दै विस्तारै मात्रै सबै १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा बाँडिने छ। थोरै परिमाणमा पानी आए पनि सबैतिर पानी वितरण गर्ने योजना छ’, उनले भने ।
समाधान होला त काठमाडौंको पानीको हाहाकार ?
दशकौंदेखि काठमाडौं बासीहरुले पानीको हाहाकार खेप्दै आएका छन् । मेलम्चीको आयोजना सुरुवात भएको दुइ दशक पछि सम्पन्न हुँदै छ। मुख्यतया उपत्यकावासीको खानेपानीको समस्या समाधान गर्नु मेलम्चीको उद्दश्ये छ । मेलम्चीको पानीले धेरै हदसम्म खानेपानीको समस्या समाधान हुने विश्वास लिइएको छ । हाल दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको केयूकेएलले बताएको छ ।
जबकी उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानी उपभोक्ताका धारामा पुगेपछि पानीको समस्या समाधान हुने विश्वास गरिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आएको छ । त्यही अनुरुप सुन्दरीजलमा निर्माण सम्पन्न साढे ८ करोड लिटर क्षमताका दुई पानी प्रशोधन केन्द्र (रिजर्भवायर) बाट पानी प्रशोधन गरी वितरण गर्न लागिएको छ ।
त्यहाँबाट पानी वितरण केन्द्र ट्याकींहरु हुँदै उपभोक्ताका धारामा पुग्ने छ । यो आयोजनाबाट झन्डै १३ लाख बासिन्दा अर्थात् एक लाख ५८ हजार घर परिवार प्रत्यक्ष लाभान्वित हुने अनुमान छ । मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन तीन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसका लागि मेलम्ची नदी डाइभर्सन सुरुङ तथा १७ करोड लिटर दैनिक क्षमता भएको सुन्दरीजल पानी प्रशोधन केन्द्र पहिलो चरणमा सम्पन्न भएर सञ्चालनमा आउने क्रममा छ ।
राष्ट्रिय गौरवको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ । दोस्रो चरणमा याङ्ग्री र लार्के अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ । मेलम्ची खानेपानी आयोजना एक बृहत अन्तर जलाधार भएको खानेपानी आयोजना हो । सिन्धुपाल्चोक जिल्ला भई बग्ने इन्द्रावती नदीका सहायक नदीहरू (मेलम्ची, याङ्ग्री तथा लार्के) को पानीलाई सुरुङका माध्यमबाट काठमाडौँ उपत्यका ल्याई वितरण गर्ने उद्देश्य छ ।
सुरुमा विद्युत पनि उत्पादन गर्ने भनिएता पनि काम अगाडि बढेको छैन । यस्तै अन्य दईुवटा नदीहरूलाई डाइभर्सन गरी मेलम्ची नदीको हेडवर्कस भन्दा केही माथी जोड्नका लागी थप दईुवटा हेडवर्कस तथा सरूङ निमार्ण गरिने छ। सुन्दरीजलमा ३ सय ४० करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण क्रमशः दोस्रो र तेस्रो चरणमा हुने छ ।






