कञ्चनपुर । कोरोनाको जोखिम बढेपछि कञ्चनपुरमा मंगलबार रातिदेखि लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको छ। भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको जोखिम नेपालमा पनि सर्न सक्ने भन्दै सिमानाका जिल्लामा कडाई सुरु गरिएको हो ।
कोरोनाको दोस्रो चरणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आंशिकरूपमा निषेधाज्ञा जारी गरिएको बताएका छन् ।
त्यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले ९ बुँदे आदेश जारी गर्दै मंगलबार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्म प्रतिबन्ध र नियम पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।
आदेशमा नजिकिँदै गरेको होली, मेला, पर्व, जात्रा, महोत्सवलगायत कुनै पनि नाममा भीडभाड वा जुलुस नगर्न भनिएको छ । भौतिक दूरी कायम तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।
यस्तै गौरीफन्टा र गड्डाचौकी नाकाबाट आवागमन र मालसामान ढुवानीका लागि बिहान ६ देखि राति ८ बजेसम्म मात्र खुला रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यीबाहेक अन्य नाका र बिन्दुबाट आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउन र विवरण टिपाउन प्रशासनले आग्रह गरेको छ ।







