काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको हालको विवाद समाधान गर्न पहिलेकै संरचनामा पार्टी चल्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिवार आफू निकट युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै उनले २०७५ जेठ ३ गतेअघि नवौं महाधिवेशनबाट पार्टीको संरचना जुन थियो त्यसलाई यथावत राख्नुपर्नेमा जोड दिए ।
उनले एमालेभित्र तेरो मेरो भन्नुपर्ने कुनै आवश्यकता नरहेको र ओलीलाई नै अध्यक्ष भएर अघि बढ्न समस्या नहुने उल्लेख गरे । गत फागुन २८ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान र विधि प्रक्रिया विपरित २३ जना केन्द्रीय सदस्य थप गरेकोमा आपत्ति जनाउँदै अहिले पार्टीभित्रको विवादको विषय नै त्यही भएको उल्लेख गरे ।
उनले प्रधानमन्त्री ओलीले हिजोको नेकपा एमालेको पार्टी संरचनामा रहेर बैठकको सामना गर्ने सामर्थ्य गुमाएको आरोप लगाउँदै नवौं महाधिवेशनबाट बनेको पार्टी संरचनामा आफ्नो पक्षको बहुमत रहेको दावी प्रस्तुत गरे । उनले भने, ‘हिजोको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ओलीले किन बोलाउन सकेनन् भन्ने तपाईहरुमा कौतुहलता होला । नवौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी पदाधिकारीमा १५ जना मध्ये ५ जना केपी ओलीको पक्षमा छन् भने १० जना हाम्रो पक्षमा छन् ।
केपी ओली,ईश्वर पोखरेल,विष्णु पौडेल,पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उनको पक्षमा छन् । हाम्रो पक्षमा २ जना वरिष्ठ नेतामा झलनाथ खनाल र म,उपाध्यक्ष वामदेव गौतम,भीम रावल,युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल,सचिव योगेश भट्टराई र गोकर्ण विष्ट र भीम आर्चाय हुनुहुन्छ ।’ नेपाल पक्षमा बहुमत भएकै कारण ओलीले पदाधिकारीको बैठक बोलाउन पनि नचाहेको उल्लेख गरे ।
यस्तै स्थायी कमिटीमा पनि ओली अल्पमतमा रहेका कारण स्थायी कमिटीको बैठक बोलाउन नचाहेको नेता नेपालले बताए । एमालेमा २२ सदस्यीय स्थायी कमिटी मध्ये १२ जना आफ्नो पक्षमा र १० ओलीको पक्षमा रहेको उनले बताए । यस्तै पोलिटब्युरोमा आफ्नो पक्षमा २५ जना रहेको ओलीको पक्षमा २० जना रहेकोले पोलिटब्युरो बैठकको पनि सामना गर्ने ओलीमा सामर्थ्य नरहेको नेता नेपालको दावी छ ।
यस्तै केन्द्रीय कमिटीमा ओलीको पक्षमा ९० जना रहेको र आफ्नो पक्षमा ९७ जना रहेकोले केन्द्रीय कमिटी बैठकको सामना गर्ने पनि ओलीमा ह्याउ नभएको उनले बताए । आफू अल्पमतमा परेपछि हुँदै नभएको अधिकार प्रयोग गरेर पार्टीको विधान संसोधन गरेको र जसलाई पायो उसैलाई केन्द्रीय कमिटी सदस्य बनाउँदै हिँडेको उल्लेख गरे ।
उनले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर पार्टीको विधान परिवर्तन गरियो र फागुन २८ गते थाहै नदिई बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखियो । २३ जना मान्छेहरुलाई केन्द्रीय कमिटिमा थपियो । पार्टीमा प्रवेश नै नगरेका पूर्व माओवादी नेताहरु कसरी केन्द्रीय सदस्य भए रुत्यसरी पनि हुन्छ रुअब उनले २३ जना थपेपछि मेरो बहुमत पुग्यो भन्छन् । त्यतिले पनि पुगेन भने ५ सय ५६ बनाएर बहुमत आफूतिरै छ भन्छन् ।’
ओलीले बाटो–बाटोबाट मान्छे लगेर केन्द्रीय सदस्य भनाएको भन्दै के त्यस्तो पनि पार्टी हुन्छ भन्दै प्रश्न गरे । उनले ओलीले बाटोबाट डमरु बजाउँदै मान्छे लगेर पार्टीमा भर्ना गर्ने बताउँदै अहिलेको एमालेभित्रको लडाइँ भनेकै पार्टीलाई विधिसँगत ढंगले चलाउनु रहेको उल्लेख गरे । त्यसका लागि २०७५ साल जेठ ३ गते अगाडिको बिन्दुबाट पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेता नेपालले केपी ओलीसँग छुट्टिने पक्षमा नरहेको बताउँदै संगै संघर्ष गर्दै जाने उल्लेख गरे । प्रधानमन्त्री ओलीसँग ४८ बर्ष पुरानो माया पिरती एकै रातमा नसकिने उल्लेख गरे । पार्टीमा अन्तर संघर्ष गरेर विधि प्रक्रियामा चल्ने एमाले बनाउँने उनको भनाई छ । अदालतको फैसलाको आलोचना स् जन्मिसकेको शिशुलाई फेरी गर्वभित्रै जा भन्न मिल्छ ?
नेता नेपालले सर्वोच्च अदालतले विचित्रको फैसला गरेको भन्दै आलोचना गरेका छन् । उनले भने, ‘सर्वोच्चले फैसला गरेछ,दुईटा पार्टी मिलाएर बनाएको एउटा पार्टी मान्दैनौँ,तिमीहरु आफ्नै पार्टीमा फर्क भनेर फैसला गरिदिएछ । यो त जन्मेको बच्चा मान्दैनौँ फेरि गर्भमा लिएर जाउ भनेजस्तो फैसला आयो । बच्चा जन्मिएर अस्तित्वमा आइसकेको छ, त्यो मान्दैनौँ भनिदिने सर्वोच्च अदालतले ? अब हामीले सर्वोच्चको फैसला लागू गर्दैनौँ भन्न मिलेन । फैसला गलत भएतापनि बाध्य भएर त्यसलाई मान्नुपर्ने भइरहेको छ ।
दुईटा पार्टी मिलिसकेका छन्,निर्वाचन आयोगले स्वीकृति दिइसकेको छ,दुई वर्षसम्म नयाँ पार्टीले काम गरिसकेको छ । त्यो पार्टीको नाममा चुनाव लडिएको छ,विभिन्न तहमा जितेर जनप्रतिनिधिहरु आएका छन् । अहिले आएर सर्वोच्चले त्यो पार्टीको एकता रद्ध भयो भन्छ । बिचित्रको फैसला छ । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो,नाम फेरेर आउनुस् भन्न सकिन्थ्यो ।’
उनले अदालतको फैसलालाई मानेको बताउँदै पूर्व एमाले ब्यूँतिएको र अब केपी ओली पनि त्यही पूर्व एमालेमा जानुपर्ने र आफूपनि त्यहीँ जानुपर्ने अवस्था आएको बताए । उनले भने,‘हामी दुवै पक्ष एमालेमा जाने हो न कि हामी केपी ओलीकोमा जाने । अब पुरानो पार्टी जुन थियो त्यहीबाट अघि बढ्नुपर्छ आज पार्टीमा भइरहेको विवाद यही हो ।’ उनले २०७१ सालमा चुनाव जितेर आएपछि ओलीले आफ्ना पक्षमा नभएकाहरुलाई निषेध गर्दै आएको उनले बताए ।
उनले हालै ओलीले परिवर्तन गरेको पार्टीको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै सुदुरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज रहेको भन्दै लेखराज भट्ट कहिलेका एमाले हुन् रुउनी अहिले एमालेको सुदूरपश्चिम इन्चार्ज बनाइएको छ । यो कसरी भयो भन्दै प्रश्न गरे । केपी ओली प्रवृति यस्तै हुने बताउदै उनले अहिलको लडाइँ कस्तो पार्टी बनाउने भन्नेमा केन्द्रीत भएको बताउँदै पार्टीको बिचार,दृष्टिकोण निर्माण सँग लडाई जोडिएको उल्लेख गरे ।
उनले पूर्व पार्टी नेकपामा ओलीले स्वेच्छाचारिता गरेको बताउदै पार्टीमा बैठक बस्न आग्रह गर्दा तपाईले भनेर हुन्छ बैठक बस्दैन भन्ने ढिपी गरेको बताए ।पार्टीमा रहेका ९ सदस्यीय सदस्यमध्ये ५ जना सदस्यले बैठक बोलाउन आग्रह गर्दा ओलीले बैठक नबोलाएको र चिठी लेख्दा पनि त्यसमा तोक लगाइदिन्छु भनेको बताउदै कम्युनिष्ट पार्टी सरकारी कार्यालय हो र तोक लगाउन ? भन्दै प्रश्न गरे ।
उनले त्यतिबेला बैठक बोलाउ भन्नु गल्ति थियो भने माफी माग्न तयार रहेको उल्लेख गरे । प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यसँग पनि छलफल नगरी संसद विघटन गरेपछि त्यो असंवैधानिक काम हो,त्यो प्रतिगमन हो भनेर त्यसका बिरुद्ध संघर्ष गरेको उल्लेख गर्दै आफूले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चले ब्यूँताइदिँदा पनि केपी ओलीमा कुनै चेत नखुलेको भन्दै नेता नेपालले आलोचना गरे । यो समाचार रातोपाटीमा छ ।






