काठमाडौ । भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन् । कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ ।
भारतमा कोरोनाको दोस्रो चरणका बिरामी पनि थुप्रै फेला परेका छन् । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन् ।
‘सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ’, प्रदेश सरकारले सीमामा खोलेको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने। कोरोनाका कारण लकडाउन हुने हल्लापछि भारतबाट फर्किने नेपालीको संख्या बढिरहेको साउदले बताए।
‘भारताट फर्किने सिजन होइन । एकै पटक चैते दसैंमा मानिस फर्किन्छन् । चैते दसैं वैशाख दोस्रो साता छ। पहाडतिर अझै खेतीपाती भित्र्याउने बेला पनि भएको छैन’, साउदले भने, ‘तर दैनिक चार–पाँच सय मानिस गौरीफन्टा नाकाबाट फर्किरहेका छन् ।’
भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ । कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्क राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
‘भारतमा कोरोना बढिरहेको छ, दैनिक १० हजारमुनि पुगेको तथ्यांक पछिल्ला दिनमा दैनिक ३५ हजार पुगेपछि भारतबाट फर्किने क्रम पनि बढेको छ’, निर्देशक डा. अवस्थीले भने,‘त्यसकै नियन्त्रणका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क राखिएको हो ।’ यो समाचार अन्नपुर्णपोष्टमा छ ।






