काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छन् । सोमवार महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।
खोप लगाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शङ्का हुनु स्वाभाविक भए पनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उहाँले सबैलाई आग्रह गरिन् ।
अग्रपङ्क्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुँदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि भण्डारीले स्पष्ट पारिन् । उनले भनिन्,‘म चाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने पर्यो । मैले खोप नलगाइकन जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले लगाएँ ।
म त त्यसै पनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरूले पनि खोप लगाउनुपर्यो । म दाजुभाइ, दिदीबहिनीहरूलाई पूर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शङ्का हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।’
राष्ट्रपति भण्डारीले नेपालमा अन्यत्र भन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपङ्क्तिमा खटिने र सामाजिक सङ्घ–संस्थालाई दिनुपर्ने र मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताईन् । राष्ट्रपति भण्डारीको आउँदो नौ गते बङ्गलादेश जाने कार्यक्रम तय भईसकेको छ ।






